सुनसरी, १५ कार्तिक । तरहरा जेसीजले सप्ताहव्यापी रूपमा आयोजना गरेको जेसीज सप्ताह–२०२६ आइतबारदेखि सुरु भएको छ ।

‘लेट्स ग्रो टुगेदर’ (सँगै अघि बढौँ) भन्ने मूल नाराका साथ सुरु भएको सप्ताहको पहिलो दिन आयोजित स्लो बाइक रेसमा पुरुषतर्फ सुरज तामाङ र स्कुटर महिलातर्फ प्रतिमा चौधरी विजयी भएका छन् ।

प्रतियोगितामा विजयी दुवै जनालाई हेल्मेट र सम्मानपत्र प्रदान गरी सम्मानित गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले युवाहरूको क्षमता, सिर्जनशीलता र नेतृत्व विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।

उनले युवालाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व, अनुशासन, सकारात्मक सोच र नेतृत्वदायी भूमिकातर्फ प्रेरित गर्नुपर्नेमा जोड दिए ।

समाज परिवर्तनका लागि युवाहरूको सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।

तरहरा जेसीजले युवाहरूमा अन्तर्निहित प्रतिभा उजागर गर्दै विधिको शासन, मानवताको सेवा र विश्व बन्धुत्वको भावना विकास गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको हो ।

कार्तिक २१ गतेसम्म सञ्चालन हुने जेसीज सप्ताहअन्तर्गत वक्तृत्वकला प्रतियोगिता, दन्त शिविर, बाघचाल प्रतियोगिता, मैत्रीपूर्ण फुटसल, लोकनृत्य तथा हाउजी तम्बोला प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिने तरहरा जेसीजका उपाध्यक्ष जेसी विदुरमणी नेपालले जानकारी दिए ।

सप्ताहका कार्यक्रममार्फत युवाहरूमा नेतृत्व क्षमता, सामाजिक चेतना, आपसी सद्भाव र सिर्जनशीलताको विकास गर्दै समाजमा सकारात्मक योगदान पुर्‍याउने लक्ष्य राखिएको तरहरा जेसीजले जनाएको छ ।

कार्यक्रमको मूल संयोजन लिलामणि खड्काले गरिरहेका छन् भने महासचिव मदन बस्नेत र अध्यक्ष मिलन गुरुङ रहेका छन् ।