जनकपुरधाम, २७ जेठ । सर्लाहीको कविलासी नगरपालिकामा सवारी दुर्घटनापछि उत्पन्न विवादका क्रममा प्रहरीमाथि आक्रमण भएको घटनामा मधेश प्रदेशका पूर्वप्रदेशसभा सदस्य अशोककुमार यादवमाथि अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेको भए पनि हालसम्म उनी सम्पर्कमा आएका छैनन् ।

सर्लाही प्रहरीका अनुसार जेठ २५ गते राति कविलासी नगरपालिका–८ अगर्वामा रोकिराखिएको ट्रकलाई एउटा ट्याक्टरले ठक्कर दिएको थियो ।

दुर्घटनापछि ट्याक्टर चालक घटनास्थलबाट भाग्न खोजेपछि प्रहरीले दुवै पक्षबीच छलफल गरी मिलापत्र गराउने वा आवश्यक परे प्रहरी कार्यालयमा आउन आग्रह गरेको थियो ।

त्यसक्रममा ट्याक्टर चालकले ट्याक्टर धनी अशोक यादवलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार यादव घटनास्थलमा पुगेपछि उनीसँग आएका केही व्यक्तिले प्रहरीसँग विवाद गर्दै आक्रमणसमेत गरेका थिए । उक्त घटनापछि ट्याक्टर घटनास्थलबाट भगाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी रवीन्द्र पौडेलले यादवविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

उनका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको भूमिकाबारे पनि अनुसन्धान जारी छ ।

घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कविलासी नगरपालिका–१० सलेमपुरका १९ वर्षीय विक्रमकुमार यादव र भारतका २१ वर्षीय प्रियाङ्शु यादव रहेका छन् ।

उनीहरूविरुद्ध अभद्र व्यवहार कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अशोक यादव २०७४ सालको निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमको तर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । हाल उनी नेपाल कम्युनिस्ट पार्टीसँग आबद्ध रहेको बताइएको छ ।

प्रहरीले घटनामा संलग्न सबै व्यक्तिको पहिचान गरी कानुनी कारबाही अघि बढाइने जनाएको छ ।