जनकपुरधाम–१ मा परिवर्तनको एजेन्डासहित मैदानमा राजिव ठाकुर

जनकपुरधाम, २७ जेठ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै जनकपुरधाम उपमहानगरपालिका–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट वडाध्यक्ष पदका प्रत्याशी राजिव ठाकुरले सुशासन, पारदर्शिता र जनउत्तरदायी नेतृत्वलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन् ।
३५ वर्षीय ठाकुरले वडा विकासका योजनामा राजनीतिक प्रभावभन्दा नागरिकको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले विगतका जनप्रतिनिधिले अपेक्षाअनुसार सेवा प्रवाह गर्न नसकेको आरोप लगाउँदै वडा कार्यालयलाई नागरिकमैत्री र जवाफदेही बनाउने लक्ष्य रहेको बताए ।
‘विकास भनेको सडक र भवन निर्माण मात्र नभई जनताले सहज रूपमा सेवा पाउनु पनि हो,’ठाकुरले भने,’वडावासीले भोगिरहेका आधारभूत समस्या समाधान गर्न पारदर्शी र उत्तरदायी नेतृत्व आवश्यक छ । त्यसका लागि मैले उम्मेदवारी दिएको हुँ ।’
उनका अनुसार वडा नम्बर–१ मा सरसफाइ व्यवस्थापन, खानेपानी, सडक मर्मत, युवा स्वरोजगार तथा डिजिटल सेवा विस्तारलाई विशेष प्राथमिकतामा राखिनेछ । युवाहरूको सहभागिता बढाएर स्थानीय स्तरमै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्न आफूले पहल गर्ने उनले बताए ।
ठाकुरले वडाको बजेट र योजनासम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्ने, नागरिकसँग नियमित संवाद कार्यक्रम सञ्चालन गर्ने तथा विकास निर्माणका काममा पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको उदयसँगै वैकल्पिक राजनीतिक शक्तिप्रति नागरिकको आकर्षण बढिरहेको उल्लेख गर्दै ठाकुरले जनकपुरधाम–१ मा पनि परिवर्तनको चाहना बलियो रहेको दाबी गरे ।
‘जनताले अब काम गर्ने नेतृत्व खोजिरहेका छन् । पुराना शैली र प्रवृत्तिबाट माथि उठेर परिणाममुखी काम गर्ने समय आएको छ,’ उनले भने ।
स्थानीय तहको विकास र सुशासनलाई केन्द्रमा राख्दै चुनावी मैदानमा उत्रिएका ठाकुरले वडावासीबाट सकारात्मक प्रतिक्रिया पाइरहेको दाबी गरेका छन् ।
उनले निर्वाचनमार्फत आफूलाई अवसर दिए जनकपुरधाम–१ लाई नमुना वडा बनाउने प्रतिबद्धता व्यक्त गरे ।

