सहमति जुट्न नसक्दा रास्वपा महोत्तरी अधिवेशन स्थगित

महोत्तरी, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको जिल्ला अधिवेशन आन्तरिक विवादका कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।
नेतृत्व चयन र संगठन विस्तारसँग सम्बन्धित मतभेद चर्किएपछि अधिवेशनका बाँकी कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको हो ।
जिल्ला अधिवेशन निर्वाचन समितिले जारी गरेको निर्णयअनुसार अधिवेशनका क्रममा विभिन्न पक्षबीच देखिएको असमझदारी र विवादलाई सहमतिमार्फत समाधान गर्न थप समय आवश्यक देखिएकाले कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
पार्टीभित्र नगर तथा क्षेत्रीय तहदेखि नै प्रतिनिधि चयन, उम्मेदवारी दर्ता र नेतृत्व छनोटका विषयमा विवाद देखिँदै आएको थियो । केही स्थानमा विवाद उग्र बन्दा कार्यकर्ताबीच भनाभन र हातपातसमेत भएको स्रोतले जनाएको छ ।
सोही विवादको प्रभाव जिल्ला अधिवेशनसम्म पुगेपछि निर्वाचन प्रक्रिया प्रभावित बनेको हो ।
जिल्ला नेतृत्व चयनलाई लिएर पार्टीभित्र फरक फरक धारणा देखिएको छ । एक पक्षले अधिवेशन प्रक्रिया पारदर्शी र विधिसम्मत नभएको आरोप लगाएको छ भने अर्को पक्षले निर्धारित कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाउनुपर्ने अडान राखेको छ ।
निर्वाचन समितिका संयोजक मनिषकुमार साहद्वारा हस्ताक्षरित निर्णयपत्रमा विवादित पक्षहरूबीच संवाद र सहमतिको वातावरण निर्माण गर्न समय दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।
समितिले निष्पक्ष, व्यवस्थित र सर्वस्वीकार्य ढंगबाट अधिवेशन सम्पन्न हुने अवस्था बनेपछि नयाँ कार्यतालिका सार्वजनिक गरिने जनाएको छ ।
अधिवेशन स्थगित भएसँगै जिल्लामा पार्टीको संगठन विस्तार अभियान प्रभावित हुने चिन्ता व्यक्त हुन थालेको छ । प्रतिनिधिहरूले विवाद लम्बिँदै जाँदा कार्यकर्तामा अन्योल र असन्तुष्टि बढ्न सक्ने बताएका छन् ।
पटक पटक अधिवेशन प्रक्रिया अवरुद्ध हुँदा संगठनात्मक गतिविधिमा समेत असर परेको उनीहरूको भनाइ छ ।

