जनकपुरधाम, २४ जेठ । महोत्तरीको पिपरा गाउँपालिकामा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेको घटनाले नयाँ मोड लिएको छ ।

मृतकका परिवारले मृत्यु शंकास्पद रहेको दाबी गर्दै घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गर्न प्रहरीसमक्ष माग गरेका छन् ।

पिपरा गाउँपालिका–५ निवासी २८ वर्षीय कपिल दास वैशाख ९ गते साँझ गाउँ नजिकैको आँप बगैंचामा झुण्डिएको अवस्थामा फेला परेका थिए । घटनापछि उनका बुवा कुलदिप दास तत्माले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दर्ता गराउँदै छोराको मृत्युको वास्तविकता बाहिर ल्याउन आग्रह गरेका छन् ।

परिवारका अनुसार कपिल वैशाख ९ गते बिहान करिब ११ बजे मोबाइलमा फोन आएपछि घरबाट निस्किएका थिए । उनले परिवारलाई ‘लक्ष्मी चोकतर्फ जाँदैछु’ भनेका थिए ।

तर, सोही दिन साँझ करिब ५ः३० बजे स्थानीय चन्देश्वर यादवको आँप बगैंचामा कपडाको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।

स्थानीय एक व्यक्तिले खेततर्फ जाने क्रममा शव देखेपछि गाउँमा खबर गरेका थिए । त्यसपछि परिवारका सदस्य र स्थानीयवासी घटनास्थल पुगेका थिए ।

सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी पिपराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो भने जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले समेत मुचुल्का उठाएर प्रारम्भिक अनुसन्धान गरेको थियो ।

मृतकका बुवाले घटनामा विभिन्न आशंका रहेको उल्लेख गर्दै निष्पक्ष छानबिनमार्फत सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

यता, प्रहरीले भने घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ । पोस्टमार्टम रिपोर्ट तथा संकलित प्रमाणका आधारमा मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ ।

घटनाको सत्यतथ्य बाहिर ल्याउन परिवार र स्थानीयवासीले समेत निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।