यातायात कार्यालयमा बिचौलियाको प्रवेश निषेध

जनकपुरधाम, २० चैत । मधेश प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालयले कार्यालय परिसरमा बिचौलियाको प्रवेश रोक्ने र सेवाग्राहीलाई सहज, छरितो र पारदर्शी सेवा उपलब्ध गराउने निर्णय गरेको छ ।
कार्यालय प्रमुख चन्देश्वर साहले सेवाग्राहीको नाममा अनावश्यक दुःख दिने, चलखेल गर्ने वा बिचौलियाको माध्यमबाट सेवा प्रवाह गर्ने कार्य नगर्न कर्मचारीहरूलाई कडा निर्देशन दिएका छन् ।
कार्यालयमा नयाँ ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ । यसबाट सेवाग्राहीलाई पालोअनुसार सेवा उपलब्ध गराइनेछ । यसले सेवा प्रवाहमा पारदर्शिता बढाउने र भ्रष्टाचारजन्य गतिविधि कम गर्ने लक्ष्य राखेको छ ।
यसैसँग, कार्यालयले सबै सेवाग्राहीलाई बिचौलियाको प्रभावमा नपर्न विशेष अनुरोध गरेको छ ।
प्रमुख साहले भने, ‘हाम्रो प्राथमिकता सेवाग्राहीको सहजता र पारदर्शी सेवा सुनिश्चित गर्नु हो । यसका लागि कर्मचारीहरूले नागरिक सहायता कक्षको सहायतामा मात्रै सेवा प्रवाह गर्नुपर्नेछ ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


