जनकपुरधाम, ७ फागुन । मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सबैमा लोकतान्त्रिक मूल्य र मान्यतालाई थप सुदृढ बनाउने आह्वान गरेका छन् ।

प्रदेश प्रमुख कर्णले २००७ सालको क्रान्तिलाई स्मरण गर्दै त्यसले जहानियाँ शासन अन्त्य गरी आधुनिक नेपालको आधार तयार पारेको बताए । प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने वीर शहीदप्रति उनले श्रद्धाञ्जली अर्पण गरे ।

सन्देशमा उनले मधेशलाई बलिदानीभूमिको रूपमा चित्रण गर्दै भने, ‘यो प्रदेश सधैँ न्याय, समानता र पहिचानको पक्षमा अग्रपङ्क्तिमा उभिरहेको छ । लोकतन्त्रलाई राजनीतिक व्यवस्थामा मात्र सीमित नराखी समावेशी र जनमुखी बनाउने साझा प्रतिबद्धता आवश्यक छ ।’

प्रदेश प्रमुख कर्णले सांस्कृतिक विविधता र सामाजिक सद्भाव जोगाउँदै समतामूलक समाज निर्माणमा एकताबद्ध हुन सबैमा आग्रह गरे ।

उनले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै नागरिकलाई विवेकपूर्ण र सक्रिय मतदान गर्न अनुरोध गरे ।

उनले थपे, ‘लोकतन्त्रले दिएको अधिकारसँगै नागरिक दायित्वको इमान्दारीपूर्वक पालन गर्दा मात्र व्यवस्था थप बलियो हुन्छ । प्रजातन्त्र दिवसले आपसी सद्भाव, भ्रातृत्व र विकासको साझा सङ्कल्पलाई अझ मजबुत बनाउने विश्वास राख्छौँ ।’