जनकपुरधाम–२४ मा घरदैलो अभियानमा मनिष झा

जनकपुरधाम, २ फागुन । धनुषा–३ अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले घरदैलो तथा जनभेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् ।
शनिबार झाले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, सुशासन र पारदर्शिताका विषयमा खुला संवाद गरे ।
उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारका समस्या समाधानलाई आफ्नो प्राथमिकता रहने प्रतिबद्धता व्यक्त गरे ।
‘वर्षौंदेखि दोहोरिँदै आएको पुरानो शैलीको राजनीति परिवर्तन गर्न अब जनताले नै अग्रसर हुनुपर्छ,’ झाले भने, ‘हामी भाषणभन्दा काममा विश्वास गर्छौं । जनताको करबाट उठेको रकम जनताकै हितमा खर्च हुने वातावरण बनाउनु नै हाम्रो लक्ष्य हो ।’
उनले युवालाई रोजगारीका अवसर सिर्जना, कृषि र साना व्यवसाय प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि कडा नीतिगत पहल गर्ने बताए ।
‘परिवर्तनको एजेण्डा कागजमा नभई व्यवहारमा देखिने गरी लागू गरिन्छ,’ उनले भने ।
कार्यक्रममा स्थानीयले खानेपानी, सडक स्तरोन्नति, फोहोर व्यवस्थापन र स्वास्थ्य सेवाको सहज पहुँच जस्ता विषय उठाएका थिए । झाले ती समस्यालाई योजनाबद्ध ढंगले समाधान गर्ने आश्वासन दिए ।
आगामी निर्वाचनमा परिवर्तनको पक्षमा उभिन आग्रह गर्दै उनले भने, ‘यसपटकको मत प्रतिनिधि छान्ने मात्र नभई सोच र प्रणाली बदल्ने अवसर हो । परिवर्तनका लागि मत घण्टीमै दिनुहोस् ।’










तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

