जनकपुरधाम, २७ माघ । धनुषाको हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादवको ६० वर्षको उमेरमा निधन भएको छ ।

मस्तिष्कघातपछि उपचारका क्रममा काठमाडौँमा सोमबार साँझ ७:३० बजे उनको निधन भएको हो ।

चार दिनअघि आफ्नै निवासमा अचानक मस्तिष्कघात भएपछि उनलाई तत्काल जनकपुरधामस्थित न्युरो अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत काठमाडौँ पुर्‍याइएको थियो । चिकित्सकको अथक प्रयासका बाबजुद उनलाई बचाउन सकिएन ।

मधेश प्रदेश नगरपालिका संघका अध्यक्ष समेत रहेका यादव सरल, अनुभवी र विकासप्रेमी नेताका रूपमा परिचित थिए । नगरको पूर्वाधार विकास, सेवा प्रवाह र सुशासनमा उनले महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

आज बिहान उनको पार्थिव शरीर पुर्ख्यौली गाउँ हंसपुर–५, बेलही लगिएको थियो । त्यहाँ श्रद्धाञ्जली सभामा स्थानीयवासी, नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, पूर्वमन्त्री रामसरोज यादव र रामकृष्ण यादवलगायत नेताहरूले समेत अन्तिम श्रद्धाञ्जली व्यक्त गरे ।

पारिवारिक स्रोतका अनुसार आज श्रद्धाञ्जलीपछि उनको अन्त्येष्टि गरिनेछ ।

स्वर्गीय यादवले श्रीमती, दुई छोरा र एक छोरीलाई छाडेर गएका छन् । परिवारसहित आफन्त र शुभेच्छुकहरू गहिरो शोकमा डुबेका छन् ।

मेयर यादवको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेसले आजका लागि तय गरिएका सम्पूर्ण राजनीतिक तथा चुनावी कार्यक्रम स्थगित गरेको छ ।

नेता विमलेन्द्र निधिको सचिवालयले शोकको समयमा प्रचारप्रसार उपयुक्त नहुने भन्दै कार्यक्रमहरू रोकिएको जनाएको छ ।

स्थानीयवासीका अनुसार प्रदीप कुमार यादव जनताको दुःख सुखमा सधैं साथ दिने नेता थिए । उनको निधनले हंसपुर नगरपालिकाले एक समर्पित र कर्मशील नेतृत्व गुमाएको छ ।

नगरको विकास र समृद्धिका लागि उनले देखाएको सपना र प्रतिबद्धता सदैव स्मरणीय रहने स्थानीयको भनाइ छ ।