‘थाकेनन् पाइला, मरेनन् सपना’

–ज्योति झा
जनकपुरधाम, २० माघ । गरिबी, पारिवारिक तनाव, सामाजिक दबाब र एक्लोपनाकाबीच पनि हार नमानेर जीवनसँग निरन्तर संघर्ष गरिरहेकी एक आमाको नाम हो अमृता रजक । उनी चार सन्तानकी आमा मात्र नभई अभावको अँध्यारोमा उज्यालो भविष्य खोजिरहेकी साहसी महिला पनि हुन् ।
धनुषाको मिथिला बिहारी नगरपालिकास्थित ललिया माइती भएकी अमृताको विवाह मात्र १५ वर्षको उमेरमा भयो। बाल्यकाल सकिन नपाउँदै उनी गृहस्थीको जिम्मेवारी बोकेर नयाँ जीवनमा प्रवेश गरिन् । समयसँगै तीन छोरी र एक छोरासहित चार सन्तानकी आमा बनिन् ।
अहिले उनकी जेठी छोरी १९ वर्ष पुगिसकेकी छन् । सानै उमेरमा विवाह, सीमित शिक्षा, आर्थिक अभाव र पारिवारिक दबाबले उनको जीवनको शुरुवात नै कठिन बनायो ।
श्रीमान् मदिरा सेवनमा लिप्त हुनु, घरको कमजोर आर्थिक अवस्था र सासु ससुरासँगको सम्बन्धमा खटपटका कारण अमृताको दैनिकीलाई झन् बोझिलो बनायो । कहिलेकाहीँ खाना जुटाउन पनि कठिन हुन्थ्यो । परिवार पाल्न उनले दैनिक ज्यालादारी काम गर्न थालिन् ।
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म जोनबनमा काम गरेर पाउने पारिश्रमिक थियो—१० किलो चामल । नगद आम्दानी नहुँदा जीवन गुजारा गर्ने स्तरमै सीमित रह्यो । ‘त्यो बेला पैसा होइन, पेट भर्ने चामल नै ठूलो कुरा थियो,’ अमृता सम्झिन्छिन् ।
यसैबीच, श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया पुगे । परिवारको अवस्था सुध्रिने आशा पलायो । तर, नियतिले फेरि परीक्षा लियो । अरूको गल्तीका कारण उनी प्रहरी हिरासतमा परे र बाध्य भएर नेपाल फर्कनुपर्यो । त्यो घटनाले अमृतालाई मानसिक रूपमा पनि निकै कमजोर बनायो ।

केही समयपछि श्रीमान् पुनः साउदी अरब गएका छन् । अहिले पछिल्लो चार वर्षदेखि मासिक करिब ३० हजार रुपैयाँ कमाइरहेका छन् । यद्यपि त्यो आम्दानी परिवारका सबै आवश्यकताका लागि पर्याप्त छैन । घर, पढाइ, खानपान र स्वास्थ्य सबै खर्चको जिम्मा अझै अमृताकै काँधमा छ ।
उनको जीवनमा वास्तविक परिवर्तन भने कल्चर भिलेज सञ्चालनमा आएपछि आयो । त्यहाँ रोजगारी पाएपछि बिहान ६ बजेदेखि राति १० बजेसम्म काम गर्न थालिन् । हाल उनी मासिक १७ हजार रुपैयाँ कमाइरहेकी छन् । नियमित आम्दानी सुरु भएपछि उनको जीवनमा केही स्थायित्व आएको छ । ‘अब कम्तीमा भोलि के खाने भन्ने चिन्ता छैन,’ उनले मुस्कुराउँदै भनिन् ।
तर, उनको दिनचर्या सजिलो छैन । बिहान सबेरै उठेर काम, घर फर्किएपछि खाना बनाउने, बच्चाको पढाइ हेर्ने, घरधन्दा गर्ने । उनको जीवन विश्रामविहीन यात्राजस्तै छ ।
‘आफ्नो लागि समय त छैन,’ उनी भन्छिन्, ‘तर, बच्चाहरूको भविष्य राम्रो बनाउने सपना छ । त्यसका लागि जे गर्नुपर्छ, म गर्छु ।’
अमृताको आँखामा सबैभन्दा ठूलो सपना आफ्ना सन्तानलाई शिक्षित बनाउनु हो । आफू पढ्न नपाएको पीडा अझै उनको मनमा गहिरो छ ।
‘सादय मैले पढ्न पाएको भए आज यति दुःख भोग्नुपर्दैनथ्यो,’ उनी भावुक हुँदै भन्छिन्, ‘त्यसैले मेरा छोराछोरी अनपढ हुने छैनन् । जति मेहनत गर्नुपरे पनि म पछाडि हटदिन् ।’
उनले सन्तानको खाना, कपडा र पढाइमा कहिल्यै सम्झौता गरेकी छैनन् । आफ्ना आवश्यकताहरू पछि पारेर उनी सधैं बच्चालाई प्राथमिकतामा राख्छिन् ।

समाजमा अझै पनि महिलाले भोग्नुपर्ने विभेद, आर्थिक निर्भरता र सीमित अवसरबीच अमृता जस्ता महिलाहरू मौन क्रान्ति गरिरहेका छन् । उनीहरू नारा लगाउँदैनन्, भाषण गर्दैनन्, तर आफ्नो पसिनाबाट भविष्य निर्माण गर्छन् ।
अमृता भन्छिन्, ‘जीवनले धेरै चोट दियो । तर, मैले हार मानिनँ । बच्चाको अनुहार हेरेर फेरि उठेँ ।’
अमृताको संघर्ष व्यक्तिगत कथा नभई हजारौं श्रमिक महिलाको प्रतिनिधि आवाज हो । यसले आँसु लुकाएर मुस्कान बाँड्छ, दुःख लुकाएर सन्तानको सपना बोक्छ ।
आज अमृता रजक एउटा उदाहरण बनेकी छन् । आमाको माया, साहस र आत्मबलले असम्भवलाई सम्भव बनाउँछ । उनी यस कुराकी प्रमाण हुन् कि आमालाई भगवानको अर्को रूप किन भनिन्छ ।
गरिबी, पीडा र अभावका बीच पनि उनले हार मानेकी छैनन् । आफ्नो जीवनभन्दा सन्तानको भविष्य ठूलो ठानेर दिनरात खटिरहेकी अमृता आज पनि शान्त स्वरमा भन्छिन्, ‘मेरो सपना ठूलो छैन, मेरा छोराछोरी सफल होऊन्, यही नै मेरो जीवनको जित हो ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

