निर्वाचनका कारण जनकपुर साहित्य महोत्सवको मिति परिवर्तन

जनकपुरधाम, ८ माघ । भाषा, साहित्य, संस्कृति तथा समकालीन बौद्धिक विमर्शलाई सुदृढ बनाउने उद्देश्यका साथ आयोजना हुँदै आएको जनकपुर साहित्य महोत्सव–२०८२ को मिति परिवर्तन गरिएको छ ।
यसअघि महोत्सव माघ २२, २३ र २४ गते आयोजना गर्ने तयारी गरिएको थियो । तर, नेपाल सरकारले सोही अवधिमा आम निर्वाचनको मिति घोषणा गरेसँगै देशभर निर्वाचनसम्बन्धी गतिविधि तीव्र हुने भएकाले कार्यक्रमको मिति परिमार्जन गरिएको आयोजकले जनाएको छ ।
आयोजक संस्था नव मिथिला फाउन्डेशनका अनुसार अब जनकपुर साहित्य महोत्सव–२०८२ चैत्र १२, १३ र १४ गते जनकपुरधामस्थित राम मन्दिर पार्कमा आयोजना हुनेछ ।
आयोजकले निर्वाचनको माहोलका कारण सहभागी, लेखक, वक्ता तथा दर्शकको उपस्थिति प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मिति सारिएको जनाएको छ ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका साहित्यकार, लेखक, कलाकार, बौद्धिक व्यक्तित्व तथा युवा पुस्ताको सहभागिता रहने विश्वास गरिएको छ ।
आयोजकका अनुसार कार्यक्रममार्फत मिथिला क्षेत्रको भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनसँगै समसामयिक विषयमा गहन बहस र विमर्श गरिनेछ ।
जनकपुर साहित्य महोत्सवले पछिल्ला वर्षहरूमा मधेश र मिथिला क्षेत्रको साहित्यिक पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

