जनकपुरधाम, २ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेश प्रदेशमा निर्वाचन प्रहरी बन्नेहरूको होड देखिएको छ ।

आवश्यक संख्याभन्दा करिब ७० प्रतिशत बढी आवेदन परेपछि प्रतिस्पर्धा चर्किएको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार मधेशका आठै जिल्लाबाट कुल ५३ हजार ३३८ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् । जबकि मधेश प्रदेशमा आवश्यक निर्वाचन प्रहरी संख्या ३१ हजार ४६६ मात्र रहेको छ । यसअनुसार आवश्यकताभन्दा ६९.५१ प्रतिशत बढी आवेदन परेको प्रहरी कार्यालयको निष्कर्ष छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाका अनुसार नेपाल प्रहरीतर्फ ४८ हजार २५० जना र सशस्त्र प्रहरीतर्फ ५ हजार ८८ जनाले आवेदन दिएका हुन् ।

आवश्यक संख्याअनुसार नेपाल प्रहरीले २८ हजार २९५ जना र सशस्त्र प्रहरीले ३ हजार १७१ जना निर्वाचन प्रहरी भर्ना गर्न पाउने जिम्मेवारी पाएको थियो ।

आवेदन दिनेहरूमा पुरुषको संख्या अत्यधिक देखिएको छ । प्रहरी कार्यालयका अनुसार आठै जिल्लामा नेपाल प्रहरीतर्फ ४० हजार २७३ जना पुरुष र ७ हजार ९७७ जना महिलाले आवेदन दिएका छन् ।

पछिल्ला वर्षहरूमा महिलाको सहभागिता क्रमशः बढ्दै गए पनि अझै पुरुषको तुलनामा कम देखिएको प्रहरीको भनाइ छ ।

जिल्लागत रूपमा हेर्दा बारामा सबैभन्दा बढी आवेदन परेको छ भने महोत्तरीमा तुलनात्मक रूपमा कम आवेदन परेको छ । बारामा आवश्यकताभन्दा १०९.१५ प्रतिशत बढी आवेदन परेको हो । यहाँ नेपाल प्रहरीतर्फ ५ हजार ५८१ पुरुष र १ हजार १९२ महिला गरी ६ हजार ७७३ जना तथा सशस्त्र प्रहरीतर्फ १ हजार ६६४ जना गरी कुल ८ हजार ४३७ जनाले आवेदन दिएका छन् ।

महोत्तरीमा भने ३ हजार ९१२ जनाको आवश्यकता रहेकोमा ५ हजार ३५९ जनाले आवेदन दिएका छन् । यो आवश्यकताभन्दा ३६.९९ प्रतिशत बढी हो । यही कारण महोत्तरीमा अन्य जिल्लाको तुलनामा प्रतिस्पर्धा केही कम देखिएको प्रहरीको विश्लेषण छ ।

सप्तरीमा ४ हजार २२२ जना निर्वाचन प्रहरीको आवश्यकता रहेकोमा ७ हजार ५१२ जनाले आवेदन दिएका छन् । यो ७७.९३ प्रतिशत बढी हो । धनुषामा ४ हजार ५२७ जनाको आवश्यकतामा ७ हजार २१५ जनाको आवेदन परेको छ । यसले आवश्यकताभन्दा ५९.३८ प्रतिशत बढी देखाउँछ ।

रौतहटमा ३ हजार ८५१ जनाको आवश्यकता भए पनि ६ हजार ७५३ जनाले आवेदन दिएका छन् । यो ७५.३६ प्रतिशत बढी हो । सर्लाहीमा ४ हजार ३११ जनाको आवश्यकतामा ६ हजार ६६१ जनाको आवेदन परेको छ । यो भने ५४.५१ प्रतिशत बढी हो ।

पर्सामा २ हजार ८५२ जनाको आवश्यकता रहेकोमा ५ हजार ९२० जनाले आवेदन दिएका छन् । यो आवश्यकताभन्दा १०७.५७ प्रतिशत बढी हो । सिरहामा ३ हजार ७५७ जनाको आवश्यकतामा ५ हजार ४८१ जनाको आवेदन परेको छ । यो ४५.८९ प्रतिशत बढी हो ।

प्रहरी अधिकारीहरूका अनुसार निर्वाचन प्रहरीमा अत्यधिक आवेदन पर्नुको मुख्य कारण बेरोजगारी, अल्पकालीन रोजगारीको अवसर र निश्चित आम्दानी हो । केही समयको सेवाबाटै आर्थिक लाभ हुने भएकाले युवाहरू आकर्षित भएको उनीहरूको बुझाइ छ ।

मधेश प्रदेशमा हाल ४.४ निर्वाचन क्षेत्र औसतका दरले जम्मा ३२ निर्वाचन क्षेत्र रहेका छन् । मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार प्रदेशमा कुल ३६ लाख ३६ हजार ४१४ जना मतदाता छन् । यति ठूलो मतदाता संख्यालाई सुरक्षित र निष्पक्ष वातावरणमा मतदान गराउन निर्वाचन प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहने प्रहरी प्रशासनको भनाइ छ ।

प्रदेश प्रहरी कार्यालयले छिट्टै छनोट प्रक्रिया सुरु गरी आवश्यक संख्यामा निर्वाचन प्रहरी खटाइने जनाएको छ ।