जनकपुरधाम, २९ पुष । मधेश प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका निलम्बित सांसद सरोज कुमार सिंहविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी परीक्षण सुरु गर्ने आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशद्वय उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले मंगलबार साक्षी बुझ्ने आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सिंहले ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ हिनामिना गरेको अभियोगसहित सोही रकम बराबरको बिगो मागदाबी गरेको छ ।

आयोगका अनुसार उपभोक्ता समितिको खातामा जम्मा भएको रकम सिंहले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिक्न लगाई आफ्नो तथा श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गरी दुरुपयोग गरेका थिए ।

यसै प्रकरणमा सिंहसँगै रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी भन्ने स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगिन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीलाई पनि प्रतिवादी बनाइएको छ ।