जनकपुरधाम, २९ पुष । प्राचीन मिथिला सभ्यता र वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाम धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्तै महत्वपूर्ण शहर मानिन्छ । रामजानकीको भूमि भनेर चिनिने यस शहरका दर्जनौँ पोखरीहरू धार्मिक ग्रन्थमा वर्णित छन् । ती पोखरीहरूमा पवित्र स्नान, पूजा–अर्चना र धार्मिक कर्मका लागि वर्षेनि लाखौँ श्रद्धालु जनकपुरधाम आउने गर्छन् । तर, सरोकारवाला निकायको उदासीनता र स्थानीय तहको बेवास्ताका कारण यिनै ऐतिहासिक पोखरीहरू आज लोप र दुषित हुने अवस्थामा पुगेका छन् ।

जनकपुरधामको मुटु मानिने राम सागर यसको ज्वलन्त उदाहरण हो । कहिल्यै श्रद्धा र आस्थाको केन्द्र रहेको यो पवित्र सरोवर अहिले दुर्गन्धित फोहोर पानीले भरिएको छ । स्थानीयको लापरबाही र संरक्षणको अभावले पोखरीको अस्तित्व नै संकटमा पर्दै गएको छ । संघीय शहरी विकास तथा भवन निर्माण इकाई कार्यालयको ४० लाख रुपैयाँको सहयोगमा दुई वर्षअघि निर्माण गरिएको करिब ४० मिटर लामो घाट अहिले गाई गोठमा परिणत भएको छ । जथाभावी फालिने फोहोर, झाडी र काँस पलाएर पोखरी क्रमशः पुर्न थालेको छ ।

पोखरीको अवस्था दयनीय भए पनि घाट निर्माणका क्रममा तामझामका साथ जडान गरिएको शिलालेख भने यथावत छ । राम युवा कमिटीद्वारा संरक्षित र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहद्वारा २०७९ पुस २० गते शिलान्यास गरिएको उल्लेख उक्त शिलामा छ । त्यसमा तत्कालीन अध्यक्षसहित १७ जना कार्यसमितिका सदस्यहरूको नाम उल्लेख गरिए पनि संरक्षणको जिम्मेवारी व्यवहारमा देखिएको छैन ।

स्थानीयका अनुसार कुनै समय राम सागरमा श्रद्धालुहरू स्नान मात्र नभई यहीँको पवित्र जल प्रयोग गरेर छेउमै रहेको प्राचीन राम मन्दिरमा भोग प्रसादसमेत तयार गरिन्थ्यो । तर, अहिले श्रद्धा, आस्था र विश्वासले भरिएको यो सागर उपेक्षाका कारण पहिचान गुमाउँदै गएको छ ।

राम सागरबाट करिब ५ सय मिटर दक्षिण, प्रदेश प्रहरी कार्यालयदेखि पूर्व र मुरली चोकदेखि उत्तरतर्फ रहेको मुरली सर पोखरीको अवस्था पनि उस्तै छ । गुठी संस्थानले वार्षिक दुई लाख रुपैयाँमा मत्स्य पालनका लागि ठेक्का लगाए पनि पोखरी प्लास्टिकजन्य फोहोर र ढल मिसिएको पानीका कारण दुर्गन्धित बनेको छ । अतिक्रमणले पोखरीको क्षेत्रफल पनि दिनप्रतिदिन घट्दै गएको स्थानीयको गुनासो छ ।

मुरली सरभन्दा करिब दुई सय मिटर पूर्व, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको छेउमै रहेको विषहरा पोखरीको संरक्षणमा भने पछिल्लो समय स्थानीय केही सक्रिय देखिएका छन् । केही महिनाअघिसम्म जलकुम्भीले ढाकिएको र फोहोर थुपार्ने स्थान बनेको यस पोखरीको डिलमा अहिले बाँसको घेराबेरा लगाउनेदेखि सौन्दर्यीकरणको काम सुरु भएको छ । तर, विषहरा पोखरीमा हुने मत्स्य पालनबाट उठ्ने ठेक्का रकम संरक्षणमा खर्चिनुको साटो गुठी संस्थानको केन्द्रीय कार्यालय काठमाडौं जाने गरेको स्थानीयको आरोप छ ।

जनकपुरधामका धार्मिक र सांस्कृतिक महत्वका पोखरीहरूको संरक्षणका प्रयास कहिलेकाहीँ भएका छैनन् भन्न मिल्दैन । आर्थिक वर्ष २०७२/०७३ मा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष रामकुमार शर्माको नेतृत्वमा सरोकारवालाको सहकार्यमा अतिक्रमित पोखरीहरू अतिक्रमणमुक्त गराउने अभियानसमेत सञ्चालन गरिएको थियो । गंगासागर, धनुषसागर, अंगराज सर, दशरथ तलाउ, गोरधोईलगायत पोखरीहरूको जल संरक्षणका लागि युवाहरूले नियमित सरसफाइ गर्दै आएका छन् ।

तर, दीर्घकालीन नीति र प्रभावकारी कार्ययोजनाको अभावले समस्या समाधान हुन सकेको छैन । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले २०६२ सालमा गरेको अध्ययनअनुसार जनक सरोवर, अमृतकुण्ड, गोपालसर, यसस्विनी सर र बलदेव सर जस्ता ऐतिहासिक पोखरीहरू पूर्ण रूपमा लुप्त भइसकेका छन् । आज ती स्थानमा ठूला–ठूला निजी महल र संरचना ठडिएका छन् । तर, ती पोखरीको खोज, संरक्षण र पुनर्जीवनका लागि कुनै ठोस नीति बनाइएको छैन ।

संस्कृति विद्हरूका अनुसार पोखरीहरू केवल पानीको स्रोत मात्र नभई मिथिला सभ्यताको पहिचान र धार्मिक विश्वासका आधार हुन् । यदि समयमै संरक्षण र व्यवस्थापन गरिएन भने जनकपुरधामको धार्मिक गरिमा र सांस्कृतिक धरोहर गम्भीर संकटमा पर्ने उनीहरूको चेतावनी छ । स्थानीय, उपमहानगरपालिका, प्रदेश सरकार र सम्बन्धित निकायको साझा पहल बिना यी पवित्र पोखरीहरूको अस्तित्व जोगिन कठिन देखिन्छ ।