जनकपुरधाम, २७ पुष । नेपाल मेडिकल एशोसिएसन (एनएमए) जनकपुरधाम शाखाको अध्यक्षमा वरिष्ठ छालारोग विशेषज्ञ डा. रामज्ञान यादव निर्वाचित भएका छन् ।

हाल जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा कार्यरत डा. यादवको नेतृत्वमा नयाँ १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।

नवनिर्वाचित कार्यसमितिअनुसार वरिष्ठ उपाध्यक्षमा डा. विजय कुमार कापर, उपाध्यक्षमा डा. निरञ्जन कुमार गोइत तथा महासचिवमा डा. विजय कुमार साह निर्वाचित भएका छन् । त्यस्तै सह–सचिवमा डा. रविन झा चयन भएका छन् ।

कोषाध्यक्षको जिम्मेवारी हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रतीश सिंहले पाएका छन् भने सह–कोषाध्यक्षमा डा. शम्भु साह चयन भएका छन् । कार्यसमितिका सदस्यहरूमा डा. जितेन्द्र ठाकुर, डा. रविन प्रसाद साह, डा. बलराम मण्डल, डा. ममता कुमारी साह, डा. राम प्रताप साह तथा डा. अश्विनी कुमार रञ्जन निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्षदेखि सदस्यसम्मको कार्यकाल तीन वर्षको रहने नेपाल मेडिकल एशोसिएसन जनकपुरधाम शाखाले जनाएको छ । शाखाको कार्यक्षेत्र मधेश प्रदेशअन्तर्गत धनुषा, महोतरी, सर्लाही र सिन्धुली जिल्लासम्म फैलिएको छ ।

अध्यक्षमा निर्वाचित भएपछि डा. यादवले चिकित्सकहरूको हकहित संरक्षण, पेशागत मर्यादा कायम राख्ने तथा जनस्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर संगठनलाई अझ सक्रिय र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले स्वास्थ्य सेवामा चिकित्सकहरूको भूमिका अझ प्रभावकारी बनाउन संघले समन्वयात्मक रूपमा काम गर्ने बताए ।