राष्ट्रिय मुक्ति पार्टीका नेता चौधरीको निधन

सप्तरी, २७ पुष । राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकारिणी सदस्य तथा पूर्व ऊर्जा राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा आइतबार बिहान सप्तरीस्थित निजी निवासमा निधन भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव सन्तोष मेहताले जानकारी दिए ।
लामो समयदेखि थारु समुदायको अधिकार र समावेशी राजनीतिमा सक्रिय चौधरी राष्ट्रिय मुक्ति पार्टीको थारु राष्ट्रिय परिषद्का अध्यक्षसमेत थिए । उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरीबाट निर्वाचित भई ऊर्जा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
महासचिव मेहताका अनुसार चौधरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी–३ बाट उम्मेदवारी दिने तयारीमा थिए । पार्टीले उनलाई उम्मेदवार बनाउने आन्तरिक तयारीसमेत गरिसकेको अवस्थामा अचानक निधन भएपछि पार्टी र समर्थकहरू स्तब्ध भएका छन् ।
राजनीतिमा लामो योगदान दिएका चौधरी थारु समुदायको पहिचान, अधिकार र विकासका सवालमा निरन्तर आवाज उठाउँदै आएका थिए । सरल स्वभाव र संघर्षशील नेताका रूपमा परिचित उनको निधनले पार्टी मात्र नभई समग्र मधेश र थारु समुदायलाई अपूरणीय क्षति पुगेको नेताहरूले बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

