शहीदको बलिदानीकै आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो : विमलेन्द्र निधि

जनकपुरधाम, २६ पुष । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले शहीदहरूको बलिदानीकै कारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई जनता सार्वभौम बनेको बताएका छन् ।
शहीद सत्यनारायण पाठकको ३८औँ स्मृति दिवसका अवसरमा आज जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित उनको सालिकमा श्रद्धाञ्जली अर्पण गर्दै नेता निधिले जहानियाँ पञ्चायती व्यवस्थाविरुद्ध जनताको हितका लागि शहादत दिएका पाठकको योगदान ऐतिहासिक रहेको उल्लेख गरे । उनले पाठकको त्यागकै बलमा २०४६ सालको जनआन्दोलन सफल भएको स्मरण गराए ।
नेता निधिले तत्कालीन प्रमुख जिल्ला अधिकारीले आफ्नै हातले गोली हानी पाठकको हत्या गरेको घटनालाई स्मरण गर्दै लोकतन्त्र स्थापनापछि नेपाली काँग्रेसले पाठकलाई सहिद घोषणा गरेको बताए ।
उनले शहीदहरूले सधैं जनताको पक्षमा उभिएर बलिदान दिने गरेको उल्लेख गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लोकतन्त्रको महाअभियानको संज्ञा दिँदै नेता निधिले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ता तथा जनतालाई आग्रह गरे ।
श्रद्धाञ्जली सभामा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य तथा प्रमुख सचेतक कुमरकान्त झा, प्रदेशसभा सदस्य रामसरोज यादव, काँग्रेस नेता गणेश तिवारी, पूर्व वडाध्यक्ष रमेश ठाकुरलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

