जनकपुरधाम, १४ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शोसित र उत्पीडित वर्गको न्याय सुनिश्चित गर्न आफ्नो दल आगामी निर्वाचनमा सहभागी हुन लागेको घोषणा गरेका छन् ।

जनकपुरधाममा आयोजित जसपा नेपालको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले लोकतन्त्रमा निर्वाचनको विशिष्ट महत्व रहेको उल्लेख गर्दै आफूहरु चुनावमा जान तयार रहेको बताए ।

उनले मधेशी जनतालाई आफ्नै स्वशासन र अधिकार प्रदान गर्न निर्वाचन अपरिहार्य रहेको बताए । अध्यक्ष यादवले भने, ‘भ्रष्टाचारीहरुलाई कानुनी कटघरामा उभ्याउन, प्रदेशको पुनर्संरचना गर्न, समानुपातिक निर्वाचन प्रणाली लागू गर्न र संविधान संशोधनका लागि निर्वाचनमा सहभागी हुन हामी तयार छौं ।’

उनले वर्तमान सरकारप्रति आलोचना गर्दै कांग्रेस र कम्युनिष्ट दलको सहकार्यले मुलुक ठूलो राजनीतिक संकटमा फसिएको आरोप लगाए ।

अध्यक्ष यादवले भने, ‘संसारमा पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने इतिहास छैन । तर, नेपालमा दुई तिहाईको सरकारले दम्भ देखायो, युवालाई पेलेर जाने रणनीति अपनायो, जसका कारण मुलुकमा ठूलो राजनीतिक दुर्घटना भयो । फलस्वरूप संविधान अहिले मुर्छित अवस्थामा छ ।’

मधेशको अधिकारको लडाईलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित जसपा नेपाल र लोसपा एकीकृत भइसकेको उनले जानकारी दिए । साथै बाँकी मधेश केन्द्रित दलहरु पनि छिट्टै एक भएर अघि बढ्ने दावी गरे ।

अध्यक्ष यादवले संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार नभएसम्म संघर्ष जारी रहने स्पष्ट पारे ।

उनका अनुसार मधेश अब शक्ति ध्रुविकरणतर्फ अग्रसर छ । आगामी निर्वाचन यस क्षेत्रको राजनीतिक भविष्य तय गर्ने महत्वपूर्ण मञ्च बन्नेछ ।