जनकपुरधाम, १३ पुष । निर्वाचन आयोगले फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि स्वीकृत गरेको आचारसंहितामा आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोगसम्बन्धी स्पष्ट व्यवस्था समेटेको छ ।

आयोगले एआईको दुरुपयोगमार्फत निर्वाचन प्रभावित पार्ने, मतदाता भ्रममा पार्ने तथा दुष्प्रचार फैलाउने कार्यलाई पूर्ण रूपमा निषेध गरेको हो ।

आचारसंहिताअनुसार सामाजिक सञ्जालमा एआई प्रयोग गरी वा नगरी निर्वाचनको परिणाममा प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्याउने, अपमान गर्ने, द्वेषपूर्ण अभिव्यक्ति दिने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा दुष्प्रचार गर्ने गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।

यस्ता कार्य उम्मेदवार, दल, समर्थक वा अन्य कुनै व्यक्तिबाट गरिए पनि आचारसंहिता उल्लङ्घन मानिने आयोगले जनाएको छ ।

त्यसैगरी कुनै एक प्रयोजनका लागि प्रकाशित वा प्रसारित सूचना, तस्बिर, अडियो वा भिडियो सामग्रीलाई एआई प्रविधि प्रयोग गरेर वा सामान्य रूपमा तोडमोड गरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, सेयर, कमेन्ट, प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन गर्न पनि निषेध गरिएको छ ।

निर्वाचन आयोगका अनुसार प्रविधिको तीव्र विकाससँगै गलत सूचना र दुष्प्रचारको जोखिम बढेकाले मतदाताको सही सूचना पाउने अधिकार सुरक्षित गर्न यस्तो व्यवस्था गरिएको हो ।

आयोगले आचारसंहिता उल्लङ्घन गर्ने जोकोहीलाई कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ ।

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।