मधेश प्रदेशको तेस्रो सभामुख बने रामअशिष यादव, मैथिली भाषामा लिए शपथ

जनकपुरधाम, ६ पुष । मधेश प्रदेशसभाका तेस्रो सभामुखमा निर्वाचित जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले आइतबार साँझ एक औपचारिक समारोहका बीच यादवलाई सभामुख पदको शपथ गराएका हुन् ।
सभामुख यादवले मधेशको पहिचान र मातृभाषाको सम्मान झल्किने गरी मैथिली भाषामा पद तथा गोपनीयताको शपथ लिएका छन् । मैथिली भाषामा शपथ ग्रहण गरेपछि प्रदेशसभामा उपस्थित सांसद, कर्मचारी तथा शुभेच्छुकहरूले ताली बजाउँदै स्वागत गरेका थिए ।
श्पथ ग्रहण समारोहमा मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, विभिन्न दलका नेताहरू तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।
यसअघि प्रदेशसभाको बैठकबाट मत विभाजन प्रक्रियामार्फत निर्वाचित भएका यादव सातदलीय गठबन्धनको समर्थनमा सभामुख बनेका हुन् । उनी धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
शिक्षक र पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा आएका यादव यसअघि जसपा नेपालको प्रमुख सचेतकको जिम्मेवारीमा रहेर प्रदेशसभामा सक्रिय भूमिका खेल्दै आएका थिए ।
सामाजिक मुद्दा, शिक्षा र वातावरण संरक्षणका विषयमा निरन्तर आवाज उठाउँदै आएका उनी सभामुखको भूमिकामा निष्पक्ष र मर्यादित संसदीय अभ्यासलाई प्राथमिकता दिने बताउँदै आएका छन् ।
सभामुखको रूपमा यादवले प्रदेशसभालाई प्रभावकारी बनाउने, विधेयकहरू समयमै छलफल र पारित गर्ने तथा मधेश प्रदेशको हितमा नीतिगत निर्णयलाई अघि बढाउने चुनौती सामना गर्नुपर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


