जनकपुरधाम, १६ कार्तिक । मिथिलाञ्चल अहिले सामाचकेवा पर्वको उल्लासमा डुबेको छ । दाजुभाइको दीर्घायु, सुख–समृद्धि र स्नेहपूर्ण सम्बन्धका प्रतीकका रूपमा मनाइने सामाचकेवा पर्वले मिथिला क्षेत्रका गाउँ–शहरहरूलाई गीतमय बनाइरहेको छ ।

हरेक साँझ दिदीबहिनीहरू आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै प्रेम र अनुरागले भरिएका सामाचकेवा गीत गाउँदै गाउँ–टोल उज्यालो बनाइरहेका छन् ।

छठपर्व खरनाको दिनदेखि सुरु हुने यो पर्व दश दिनसम्म मनाइन्छ । मिथिला क्षेत्रमा बसोबास गर्ने मैथिली समुदायका दिदीबहिनीहरूले यो पर्वलाई अत्यन्त उत्साहका साथ मनाउने गर्छन् । छठ पर्वको तयारीसँगै सामाचकेवाका लागि घरघरमा माटाका मूर्ति, रङ्गीन पोसाक, माला र दियोको तयारी सुरु भइसकेको हुन्छ ।

सामाचकेवा पर्वको मूल भावना दिदीबहिनी र दाजुभाइबीचको अमर प्रेम र आपसी समर्पण हो । जनविश्वास अनुसार यो पर्व खेल्नाले दाजुभाइको आयु लामो हुन्छ र पारिवारिक सम्बन्ध अझ सुदृढ बन्छ । साँझपख महिलाहरू सामाचकेवाको मूर्ति लिएर आँगन वा खुला स्थानमा गीत गाउँदै सामूहिक रूपमा खेल्ने गर्छन् । गीतमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको स्वास्थ्य, दीर्घायु र सफलताको कामना गर्छन् ।

सामाचकेवा पर्वको उल्लेख पद्म पुराणमा समेत पाइन्छ । कथाअनुसार श्यामा र वृन्दावनका कुमार चारुबक्य प्रेममा बाँधिएका थिए । तर, राज्यका महासामन्त चूडकले श्यामाको सतित्वमाथि झूटा आरोप लगाउँदा भगवान् कृष्णले आफ्नी छोरी श्यामालाई चरी बन्ने सराप दिएका थिए । श्यामाको विरह सहन नसकेर चारुबक्यले तपस्या गरेर चकेवा बन्न पुगे ।

पछि कृष्णका छोरा साम्बले दिदी श्यामाको निर्दोषता प्रमाणित गर्न तपस्या गरेपछि भगवान् विष्णुले श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाइदिए । यही कथाबाट सामाचकेवा पर्वको नाम उत्पत्ति भएको जनविश्वास छ । यस पर्वमा ‘चुगला’ नामले चिनिने फटाहा प्रवृत्तिका प्रतीक पुतलालाई जलाएर समाजलाई असत्य र दुष्प्रवृत्तिको विरोध गर्ने सन्देश दिइन्छ ।

सामाचकेवा पर्व केवल धार्मिक विधि मात्र नभइ समाजमा पारस्परिक प्रेम, विश्वास र निष्ठाको प्रतीक पनि हो । यस पर्वमा दिदीबहिनीहरू समुदायमा रहेका चुगला (फटाहा) प्रवृत्तिका मानिसको प्रतीकको रूपमा पुतला बनाएर गाउँटोल घुमाउँछन् र अन्त्यमा त्यसलाई आगोमा जलाइन्छ । यो परम्पराले असत्य, कपट र कलह फैलाउने व्यक्तिलाई समाजले तिरस्कार गर्नुपर्ने सन्देश दिन्छ ।

दाजुभाइ र दिदीबहिनीबीचको नाता यस पर्वको केन्द्रमा रहन्छ । पूर्णिमाको दिन दाजुभाइले सामा (मूर्ति) घुँडामा राखेर फोड्ने परम्परा छ । त्यसबेला दिदीबहिनीहरूले भाइलाई विभिन्न प्रकारका कोसेली र आशीर्वाद प्रदान गर्छन् । यो क्षण भाइबहिनीबीचको गहिरो ममता र श्रद्धाको प्रतीकका रूपमा मनाइन्छ ।

जनकपुरधाममा सामा महोत्सव
मिथिला संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि जनकपुरधाममा पनि सामाचकेवा पर्व विशेष रूपले मनाइँदै छ । मैथिली विकास कोष जनकपुरधामले जानकी मन्दिर प्राङ्गणमा ‘सामा महोत्सव’ आयोजना गरेको छ । महोत्सवमा विभिन्न टोल र समूहका महिलाहरूले सामा गीत प्रस्तुत गर्दै सहभागिता जनाएका छन् ।

कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार सामा निर्माण र खेल्ने पुरानो परम्परा हराउँदै गएको छ । नयाँ पुस्तालाई यसको सांस्कृतिक महत्व बुझाउन र परम्परागत गीत र नृत्यलाई पुनर्जीवित गर्न महोत्सव आयोजना गरिएको हो ।

मिथिलाञ्चलका अधिकांश गाउँहरूमा अहिले सामाचकेवा पर्वको रंग छाएको छ । साँझपख दियो र माटाका पुत्लाहरूको उज्यालोमा गाउँभरि गुञ्जिने गीतहरूले पूरा क्षेत्र रमाइलो बनेको छ । यो पर्वले भाइबहिनीबीचको स्नेह त सुदृढ गर्छ नै साथै मिथिला सभ्यताको सांस्कृतिक पहिचानलाई पनि जीवित राख्छ ।

पौराणिक कथा, सामाजिक सन्देश र पारिवारिक ममताको समिश्रण रहेको सामाचकेवा पर्व मिथिलाञ्चलको सांस्कृतिक आत्मा बनेको छ । आज पनि हरेक दिदीबहिनी यही पर्वको माध्यमबाट आफ्ना दाजुभाइको दीर्घायु र सुखको प्रार्थना गर्दै मिथिलाको आकाश गीतमय बनाइरहेका छन् ।


तस्बिरहरू : घनश्याम मिश्र