जनकपुरधाम, ८ बैशाख । धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ भने आठ महिनाको शिशुसहित तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा स्थानीय ३१ वर्षीया बिनिता कुमारी महतो रहेकी छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा १६ वर्षीया अनुष्का कुमारी महतो र आठ महिनाकी बालिका घाइते भएकी छन् । साथै मोटरसाइकल चालक मिथिला नगरपालिका–८ जमुनिवासका ३२ वर्षीय प्रकाश थिङ पनि घाइते भएका छन् ।

घाइतेहरूको ढल्केबरस्थित एक निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।