–ज्योति झा
सिन्धुली, ७ भदौ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–६ रातोडाँडाँको घुम्तीमा एउटा सानो चटपटेको ठेला उभिएको छ । दैनिक यात्रुहरूलाई थकाइ बिर्साउने मिठास यहीँबाट आउँछ । तर, यो ठेला व्यापारको थलो मात्र नभई एउटा सपना, संघर्ष र आत्मबलको प्रतीक हो । यो ठेला चलाउँछिन् २२ वर्षीया तुलसा कार्की ।

रामेछापको सेनापति गाउँपालिकामा जन्मिएकी तुलसा १९ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिइन् । विवाहपछि उनी श्रीमानसहित सुनकोशी आइन् । अहिले उनी एक छोरीकी आमा हुन् । मातृत्वको जिम्मेवारीसँगै उनले नयाँ जीवन यात्रा सुरु गरिन् ।

‘श्रीमान् खेतीपाती गर्नुहुन्छ । खेतबाट आएको अन्नले खान पुग्छ । मैले ठेला चलाउँछु । यही कमाइले छोरीको पढाइ र घरखर्च पुग्छ । धेरै पैसा किन चाहियो र? परिवारसँग बसेर खुशी हुनु नै सबैभन्दा ठूलो सम्पत्ति हो,’ तुलसाले मुस्कुराउँदै भनिन् ।

विद्युत् बल्बको उज्यालो नपुग्ने साँझमा पनि तुलसाको ठेला यात्रुहरूको आकर्षण बन्छ । उनको हातको चटपटे, काक्रो, भुइँकटहर वा चियाले बाटो काट्नेहरूलाई भोक मेटाउने मात्र नभई आत्मीयता पनि दिन्छ ।

‘काठमाडौँ जानेले त रातोडाँडाँको चटपटे भन्नासाथ मेरो ठेलालाई चिन्छन् । यहीँबाट गुजारा हुन्छ । यही पसिनाले गर्व हुन्छ,’ उनले भनिन् ।

दैनिक आय दुई–तीन हजार पुग्छ । कहिलेकाहीँ त चार हजारसम्म पनि कमाइ हुन्छ । तर, तुलसाको नजरमा त्यो रकमभन्दा ठूलो कुरा आत्मसम्मान हो । ‘विदेश गएर शौचालय सफा गर्ने भन्दा यहाँ आफ्नै माटोमा पसिना बगाएर खानु नै ठूलो कुरा हो,’ उनले गर्वका साथ भनिन् ।

१० कक्षा पास गरेपछि विवाह भयो । पढाइ अधुरै रोकियो । तर, अहिले जब छोरी विद्यालय जान्छिन् तुलसालाई गर्व हुन्छ । उनले छोरीका लागि नयाँ संकल्प बोकेकी छन् । ‘अब मैले पनि इन्टर पास गर्ने योजना बनाएकी छु । छोरीलाई पढाउँदै म पनि पढ्छु भन्ने सोच बनाएकी छु,’ उनले गर्वका साथ भनिन् ।

‘परिवार नै सबैभन्दा ठूलो धन हो,’ उनले भनिन्, ‘मेरो श्रीमानले कहिलेकाहीँ म विदेश जान्छु भन्नुहुन्छ तर, मैले नै जान दिइन् । दुई पैसा कम भए पनि एक छाक कम भए पनि परिवारसँगै बसेर खाने रमाइलो विदेशमा कहाँ पाइन्छ र?’

पानीको अभाव, खाद्यान्नको कमी, गाउँपालिकाको शुल्क, सडकको असुविधालगायतका सबै समस्या उनी भोग्छिन् । ‘एउटै गाडी गुड्दा गाउँपालिकाले ५०० रुपैयाँ लिन्छ । तर, सुविधा केही छैन,’ उनले सुनाइन् । तर, यी कठिनाइले उनलाई रोक्दैन । बरु आत्मबललाई अझै सबल बनाउँछ । उनी भन्छिन्, ‘रेडक्रसले दिएको ‘एक घर एक धारा’ कार्यक्रमले पानीको समस्या केही सहज बनायो । त्यही नै ठूलो उपलब्धि हो ।’

तुलसालाई विदेशिएको लहर मन पर्दैन । ‘विदेशमा पैसा आउँछ होला । तर, छोराछोरीले बाबुआमाको मायाले पाउने स्नेह त त्यहाँ भेटिँदैन । सानैमा बच्चाहरूले माया खोज्छन् । त्यो मोबाइलमा देखाएर पाइन्न,’ उनी भन्छिन् ।

तुलसाको नम्र स्वभाव, मीठो बोली र सम्मानजनक व्यवहारले उनलाई गाउँलेदेखि यात्रुसम्म सबैले माया गर्छन् । चटपटे र चियासँगै उनले अरूलाई प्रेरणा पनि पस्किन्छन् । ‘धेरै पैसा नभए पनि मन खुशी हुनुपर्छ । यही खुशीले नै जीवनलाई रमाइलो बनाउँछ,’ उनी भन्छिन् ।

‘सशक्तिकरण भनेको विदेश गएर धेरै पैसा कमाउनु मात्र होइन । आफ्नो गाउँमा, आफ्नै माटोमा पसिना बगाएर परिवारसँग खुसी बाँड्नु, आत्मसम्मानले बाँच्नु र पढाइ–लेखाइलाई निरन्तरता दिनु नै सशक्तिकरण हो,’ तुलसा भन्छिन् ।