जनकपुरधाम, २७ साउन । लामो खडेरीको मार खेपेर मुस्किलले धान रोपाइँ सकेका पर्साका किसान अहिले फेरि अर्को समस्यामा परेका छन् । यसपटक समस्या पानीको नभई रासायनिक मलको अभाव हो । आवश्यक समयमा मल नपाउँदा धानको वृद्धि र उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ताले किसानहरू त्रसित बनेका छन् ।

जिराभवानी गाउँपालिका–५ कुडौलीका किसान अलखदेवप्रसाद थारूले एक महिनाअघि रोपाइँ गरे पनि अहिलेसम्म धानमा हाल्ने मलको जोहो गर्न नसकेको बताए ।

‘खडेरीले रोपो जोगाउनै मुस्किल थियो, अब भने मल छैन,’ उनले दुखेसो पोख्दै भने, ‘गाउँका प्रभावशाली व्यक्तिहरूले सोर्सफोर्स लगाएर मल ल्याउँछन्, तर हामीजस्ता साना किसान पालिका वा सहकारीको सिफारिसका लागि दिनभर धाउँदा पनि खाली हात फर्किन बाध्य छौं ।’

वीरगंज महानगरपालिका–२८ बगहीका गेनालाल पटेल चार बिघा धानखेती गर्छन् । अकासेपानी परेपछि बीउ पलाउने आशा पलाएको तर अहिले मल नपाउँदा फेरि निराशा बढेको उनले बताए । ‘कृषि गर्ने मान्छेलाई कहिल्यै शान्ति छैन । कहिले पानीको अभाव, कहिले मलको,’ उनले भने ।

कृषि ज्ञान केन्द्र पर्साको तथ्यांकअनुसार, आव २०७८/७९ मा जिल्लामा १६ हजार ९६७ मेट्रिक टन रासायनिक मल प्रयोग भएको थियो । त्यसमा युरिया १० हजार ९० मेट्रिक टन, डिएपी ६ हजार ९६ मेट्रिक टन र पोटास २७५ मेट्रिक टन थियो । पछिल्ला तीन वर्षका तथ्यांक भने अद्यावधिक भइसकेका छैनन् ।

केन्द्रका प्रमुख रामजीवन ठाकुरका अनुसार सरकारी मापदण्डअनुसार प्रतिकट्ठा ३–४ किलो मल प्रयोग गर्नुपर्ने भए पनि धेरै उत्पादनको लोभमा किसानहरूले प्रतिकट्ठा ८–१० किलोसम्म प्रयोग गर्ने गरेका छन् । यसै कारण पनि मलको अभाव चर्किएको उनको भनाइ छ । उनका अनुसार, पर्सामा किसानको वार्षिक मागअनुसार सरकारी अनुदानको मल आपूर्ति करिब ६० प्रतिशतमा सीमित छ ।

सरकारी मल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत मात्र वितरण हुन्छ । खेतीयोग्य जमिनको क्षेत्रफल, अघिल्लो वर्षको खपत र बाली सघनताका आधारमा कोटामा बाँडिने मल जिल्लाका १४ पालिकामा करिब १०९ डिलरमार्फत पुग्छ । तर, आपूर्ति कम हुँदा धेरै किसान खाली हात फर्किन्छन् ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगंजका प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार आव २०८१÷८२ मा पर्सामा १० हजार ९४७ मेट्रिक टन मल बिक्री भएको छ । त्यसमा युरिया ५ हजार ३६५ मेट्रिक टन, डिएपी ५ हजार १२६ मेट्रिक टन र पोटास ४३५ मेट्रिक टन छन् । साथै २०.९० मेट्रिक टन चुन पनि वितरण गरिएको छ । ‘पछिल्ला वर्षमा किसानले अत्यधिक मात्रामा मल प्रयोग गर्ने भएकाले सीमित कोटाले माग धान्न सकिरहेको छैन,’ पाण्डेयले भने ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मधेश प्रदेश कार्यालयका प्रमुख आमोज लामिछानेका अनुसार, सरकारी कोटाअनुसार पर्सामा ९ प्रतिशत मल मात्र पाउने हो । ‘तर, करिब १३ प्रतिशतसम्म वितरण गर्दा पनि गुनासो आउँछ,’ उनले भने ।

गत आव २०८१/८२ मा साल्ट ट्रेडिङले पर्सामा २ हजार १७९.२०० मेट्रिक टन युरिया, ५५९.४०० मेट्रिक टन डिएपी र ७७.६५० मेट्रिक टन पोटास वितरण गरेको छ । अघिल्लो वर्ष युरिया २ हजार ४४६.८०० मेट्रिक टन, डिएपी २ हजार ५१४ मेट्रिक टन र पोटास ९९.२०० मेट्रिक टन वितरण भएको थियो ।

लामिछानेका अनुसार यहाँ नगदेबाली जस्तै उखु, सुर्ती र माछापालनमा समेत युरिया मलको प्रयोग हुने भएकाले अभाव अझ बढ्छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने कतिपय कृषि उपभोक्ता समितिले सरकारी अनुदानको मल किसानलाई सस्तोमा वितरण गर्नुपर्ने भए पनि निजी एग्रोभेटलाई बिक्री गर्ने गरेको गुनासो आएको बताए ।कृषकहरूले भने समयमै मल नपाए धानको उत्पादनमा उल्लेखनीय गिरावट आउने चेतावनी दिँदै आएका छन् ।