मिथिलाको सांस्कृतिक पहिचान ‘रक्षाबन्धन’

–ज्योति झा
जनकपुरधाम, २४ साउन । रक्षाबन्धन जसलाई जनै पुर्णिमा अथवा रक्षा सूत्र पनि भनिन्छ । रक्षा र बन्धन ‘रक्षा’ अर्थात् सुरक्षाको दायित्व लिनु हो र ‘बन्धन’ अर्थात् त्यो दायित्वलाई निभाउने सम्बन्ध हो । यो माया र विश्वासको यस्तो पवित्र बन्धन हो । यसले जीवनभर एक अर्काको सुरक्षा र सहयोग गर्ने प्रतिज्ञा जनाउँछ ।
जनैपूणिर्मा अर्थात रक्षा बन्धन नेपालका साथै भारतमा पनि ठूलो उल्लासका साथ मनाइने गरिन्छ । यो मात्र भाइ बहिनीको त्योहार मात्र नभएर आफूभन्दा ठूला बडाले सानोलाई रक्षा र आर्शिवाद स्वरुप बाँधने रक्षा सुत्रलाई रक्षाबन्धन भनिन्छ । पहिला त यस दिन ब्राम्ह्णहरु बिहानै नुहाइ धुवाइ गरेर पूजापाठ गरिसकेपछि पवित्र धागो जसलाई रक्षाबन्धन वा रक्षासुत्र पनि भन्छन । त्यो धागो बोकेर गााउँगाउँ गएर सबै जनालाई रक्षाबन्धन बाँधी टिका लगाइदिने गर्थे । र, रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धोबलि राजा दानवेन्द्रो महाबल: तेनत्वां प्रतिबध्नामि रक्षे माचल माचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा थियो । बदलामा शिष्य यजमानहरु ब्राहमणलाई दक्षिणा, वस्त्र, पैसा उपहार दिने गर्थे । र, घरका बुजुर्गहरु आफूभन्दा सानोलाई धागो हाथमा लगााइदिने र सानोले ढोगेर आर्शिवाद लिने गर्थे ।

एउटा भनाइ पनि छ कि जसले यस पवित्रताको राखी बधाउँछ उ यमदुतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । रक्षाबन्धनको दिन दानपूण्य गर्नुको केही बेग्लै महत्व पनि छ । जनै लगाउनेहरु यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । यस दिन वर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राखिन्छ । रक्षाबन्धन अर्थात जनैपूर्णिमा गर्दा शुभ र अशुभ साइत हेरेर गर्नुपर्छ । सनातन हिन्दू ज्योतिषमा शुभ वा अशुभ मानिने माध्ययमलाई साइत भनिन्छ । शुभ साइतले कुनै विशेष कार्यका लागि सकारात्मक समयको संकेत गर्छ भने अशुभ साइतले कुनै विशेष कार्यका लागि नकारात्मक समयको संकेत गर्दछ ।
शुभ साइतमा रक्षाबन्धन मनाउँदा भाइको उन्नती, प्रगति, स्वास्थ्य राम्रो हुन्छ भने अशुभ साइतमा गरेको रक्षाबन्धनको अशुभ फल हुन्छ । यहाँसम्म कि रावण जस्ता विद्वान महापण्डितलाई पनि यसले छोडेन । भद्रामा कहिले पनि राखी बाँध्नु हुँदैन । शास्त्र पुराणको मान्यता अनुसार रावणकी बहिनी शुर्पणखाले रावणलाई भद्रा कालमा राखी बाँधेकि थिइन् । जसले गर्दा रावण सहित उनको पूरै कुलको नाश भएको थियो । त्यही भएर भद्रामा बहिनीले भाइलाई राखी बाँध्नु हुँदैन ।

हाम्रो मिथिलामा राखि भगवानलाई चढाउने परम्परा पनि छ । भगवानलाइ राखि बाँधेपछि उहाँले हाम्रो रक्षा गर्नुहुन्छ भने विश्वास र श्रद्धा छ हाम्रो । र, यति मात्र नभई रक्षासुत्रको बन्धन र टिका यस उत्सवको प्रमुख विधान हो । श्रावण मासमा ऋषिगण आश्रममा बसेर अध्ययन र यज्ञ गर्थे । श्रावण पूर्णिमाको यज्ञको पूर्णाहुति हुन्थ्यो । यज्ञ समाप्त भएपछि यजमान र शिष्यलाइ सुत्र बाँध्ने प्रथा थियो । त्यही भएर पनि यसको नाम रक्षाबन्धन पर्यो । रक्षा बन्धन सम्बन्धी हाम्रो वेद पुराणमा अनेकौं पौराणिक कथा छ । कुनै युगमा देवराज इन्द्र र दैत्यराज वृतासुरका साथ १२ वर्षसम्म भयंकरं युद्ध चलेको थियो । त्यस युद्धमा असुरहरुले देवताहरुमाथि विजयी प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बाँच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने संकल्प लिए । त्यो दिन श्रावण चतुर्दशीको दिन थियो । अतस्देवगुरु बृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजयी कामना होस् भनी श्रावणमासको पुर्णिमाको शुभमुर्हतमा इन्द्रलाई रक्षासुत्र अर्थात रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए । र त्यसपश्चात इन्द्रको जित पनि भएको थियो । वास्तवमा त्यो पवितत्राको रक्षासुत्र थियो ।
त्यस्तै भगवान श्रीकृष्णले शिशुपालको वध गर्दा उनको औंलामा चोट लाग्यो र रगत बग्न थाल्यो । यो देखेर द्रौपदीले तुरुन्तै आफ्नो सारीको आँचर चिरेर श्रीकृष्णको औंलामा बाँधिनुभयो ताकि रगत रोकियोस् । यो सानो कार्यले भावुक भएका श्रीकृष्णले द्रौपदीलाई भन्नुभयो, ‘म यो ऋण जीवनभर भुल्दिन । जब तिमी मलाई बोलाउनेछौ, म तिम्रो रक्षा गर्न पक्कै आउनेछु ।’ पछि जब कौरवहरूले द्रौपदीको चीरहरण गर्ने प्रयास गरे, तब श्रीकृष्णले उनको लाज बचाउनुभयो र आफ्नो वचन पुरा गर्नुभयो । यही ‘रक्षा बन्धन’ थियो । यसले दुबैबीच गहिरो सम्बन्ध बनायो ।

त्यस्तै बलि र लक्ष्मीको कथामा भगवान विष्णुले वामन अवतार लिएर राजा बलिसँग तीन पग भूमि माग्दा उनले आफ्नो सम्पूर्ण साम्राज्य भगवानलाई दिए । भगवान विष्णु बलिका द्वारपाल बने । भगवान विष्णु वैकुण्ठ छोड्दा माता लक्ष्मी चिन्तित भइन् । उनले ब्राह्मणीको रूप लिएर राजा बलिसँग रक्षा बन्धनको दिन राखी बाँधिन् । बलिले लक्ष्मीलाई बहिनी मानेर केही माग्न दिए । लक्ष्मीले विष्णुलाई वैकुण्ठ फिर्ता लैजान वाचा मागिन् । बलिले त्यो पूरा गरे ।
यो पर्वमा पहिले ठूलोले सानोलाई राखी बाँध्ने र मुख्यतया दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर उनीहरूको दीर्घायु र सुरक्षाको कामना गर्ने चाड मानिन्थ्यो थियो । तर, आधुनिक रक्षा बन्धनमा बहिनीले बहिनीलाई, भाइले बहिनीलाई राखी बाँध्न थालेका छन् । बहिनीले आफू पनि सक्षम र आत्मनिर्भर भएको देखाउँछिन् । प्राचीन समयमा रक्षा बन्धन केवल रगतको सम्बन्ध भएका दाजुभाइ र दिदीबहिनीहरूबीच मनाइन्थ्यो । आधुनिक समयमा अब यो चाड समावेशी बनेको छ । मित्रहरू, धर्मकाका, समाजसेवी, सैनिक, शिक्षक र यहाँसम्म कि छिमेकी वा राष्ट्रका लागि पनि राखी बाँधिन्छ । पहिला राखी घरमै बनाइन्थ्यो, चामल, दूबो, फूल आदिले पूजाआजा गरिन्थ्यो । र, विशेष पारिवारिक वातावरणमा मात्र सीमित थियो । अहिले बजारमा विभिन्न डिजाइनका रेडीमेड राखी पाइन्छ । विदेशमा रहेका आफन्तलाई अनलाइन राखी पठाइन्छ । चाँदीको राखी त झन आकर्षणको केन्द्र बनेको छ ।

जे जति प्राचीन होस् वा आधुनिकताले नै किन न छोकोहोस् तर रक्षा बन्धनलाई प्रेम, विश्वास र त्यागको प्रतीक मानिन्छ । यी पौराणिक कथाहरूले स्पष्ट पार्छन् कि रक्षा बन्धन केवल भाई–बहिनीको पर्व मात्र नभई रक्षा, प्रेम, निष्ठा र धर्मको प्रतीक हो । यस पर्वले सिकाउँछ कि साँचो सम्बन्ध मात्र रगतले नभई भावना र विश्वासले पनि बनिन्छ । रक्षाबन्धन पारिवारिक मेल मिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् । रक्षाबन्धनको अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ । रगंविरंगी राखिले पसल सजेको हेर्न सकिन्छ । मिठाईको पसलमा पनि त्यतिकै भिड हुन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


