जनकपुरधाम, १५ साउन । हिन्दू धर्मका महान सन्त तथा ‘रामचरितमानस’का रचयिता गोस्वामी तुलसीदासको जन्म जयन्ती जनकपुरधाममा भव्यतापूर्वक मनाइएको छ ।

जनकपुरधामस्थित तुलसी स्मारक परिसरमा आयोजित विशेष कार्यक्रममा धार्मिक वातावरणबीच श्रद्धालुहरूको ठूलो सहभागिता देखिएको थियो ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए । उनले जनकपुरधामको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व उल्लेख गर्दै धार्मिक पर्यटनको प्रवद्र्धनका लागि सरोकारवालाहरूको सहकार्य अपरिहार्य रहेको धारणा राखे ।

मुख्यमन्त्री सिंहले धार्मिक शहर जनकपुरधाममा सञ्चालित होटल तथा भोजनालयहरूले खानाको शुद्धता र सात्विकताको ख्याल गर्नुपर्नेमा विशेष जोड दिए । ‘यहाँ आउने पर्यटकहरूको विश्वास र श्रद्धालाई ध्यानमा राखेर सेवा दिनु हाम्रो सामूहिक जिम्मेवारी हो,’ उनले भने ।

कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले सन्त तुलसीदासको जीवन, दर्शन र काव्य परम्परामाथि प्रकाश पारे । ‘सन्त तुलसीदासले सत्य, भक्ति र सदाचारको मार्ग देखाउँदै सम्पूर्ण हिन्दू समाजलाई अध्यात्ममा उन्नत गराएका छन्,’ उनले भने ।

जयन्तीको अवसरमा रामचरितमानस पाठ, भजन–कीर्तन, प्रवचनको आयोजना गरिएको थियो । भक्तजनहरूले तुलसीदासप्रति श्रद्धा अर्पण गर्दै दिनभरि धार्मिक गतिविधिमा सहभागी भएका थिए ।

सन्त तुलसीदास (सन १५३२–१६२३) एक सर्वप्रिय साधक, कवि, तथा हिन्दू दर्शनका पुनव्र्याख्याकार थिए । गोस्वामी तुलसीदासको रूपमा चिनिने उनी विशेषगरी भगवान श्रीरामप्रतिको अगाध भक्ति, ‘रामचरितमानस’ काव्य तथा ‘हनुमान चालीसा’का रचनाकारका रूपमा प्रसिद्ध छन् ।

उनी वाल्मिकीको पुनर्जन्मका रूपमा समेत मानिन्छन् । तुलसीदासले अवधी भाषामा लेखेको रामचरितमानस आज पनि नेपाल, भारत र विश्वभरका मठ–मन्दिर र पूजाकोठामा पाठ गरिन्छ ।

वाराणसीमा जीवनको अधिकांश समय विताएका तुलसीदासको नाममा आज पनि त्यहाँ ‘तुलसी घाट’ रहेको छ । जनश्रुतिअनुसार, उनी १२ महिना आमाको गर्भमा बसेका थिए र जन्मिनेबित्तिकै ‘राम’ नाम उच्चारण गरेका थिए । त्यसका कारण प्रारम्भमा उनको नाम ‘रामबोला’ रहन गएको थियो ।

उनले लेखेका काव्य र स्तोत्रहरू आज पनि हिन्दू धर्मावलम्बीहरूका लागि प्रेरणा, आस्था र श्रद्धाको केन्द्र बनेका छन् ।