जनकपुरधाम, ९ साउन । वर्षाको चरम अभावसँगै सिँचाइको पानी संकटमा परेपछि मधेश प्रदेशका प्रमुख सिँचाइ प्रणालीहरूले आलोपालो सिँचाइ विधि लागू गर्न बाध्य भएका छन् । चर्को गर्मी र असिन्चित जमिनका कारण किसानको लगानी जोखिममा पर्दै जाँदा कृषिमा गम्भीर संकटको संकेत देखिन थालेको छ ।

धनुषा र सिरहामा विस्तार गरिएको कमला सिँचाइ प्रणालीले करिब २५ हजार हेक्टर क्षेत्रफलमा सेवा दिँदै आएको छ । तर, हाल कमला नदीमै पानीको बहाव अत्यन्त न्यून भएपछि एकैपटक सबै क्षेत्रमा सिँचाइ दिन नसकिएको कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिए । असार १० गतेदेखि सिँचाइका लागि नहरमा पानी प्रवाह सुरु गरिए पनि शाखागत रूपमा पालो मिलाएर मात्रै सिँचाइ सम्भव भएको उनले बताए ।

धनुषाको गणेशमान चारनाथ, सबैला, शहीद, विदेह, कमला, हँसपुर नगरपालिका र औरही तथा जनकनन्दनी गाउँपालिकामा करिब १२ हजार ५०० हेक्टर खेतीयोग्य जमिन कमला प्रणालीअन्तर्गत पर्छ । सिरहाको कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा, सुखीपुर नगरपालिका तथा विष्णुपुर र औरही गाउँपालिकासमेत यही प्रणालीबाट सिँचित छन् ।

मधेशका अन्य सिँचाइ योजनाहरूमा पनि पानीको समस्या उत्तिकै गहिरिएको छ । बागमती सिँचाइ आयोजनाले सर्लाही र रौतहटका ४५ हजार ६०० हेक्टर क्षेत्रमा सेवा दिने क्षमता राखे पनि पानीको अभावले गर्दा यो प्रणाली पनि आलोपालो सिँचाइमा निर्भर छ । यस्तै, नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, पर्साले पर्सा, बारा र रौतहटका ३७ हजार ४०० हेक्टर क्षेत्रमा सिँचाइ सेवा दिन्छ भने चन्द्र नहर प्रणालीले सप्तरीमा १० हजार ५०० हेक्टरमा सेवा दिँदै आएको छ । तर, यी प्रणालीहरूमा पनि जलस्रोत सुक्खिँदै जाँदा नियमित सिँचाइ सम्भव भएको छैन ।

तराई मधेश भूमिगत जल सिँचाइ कार्यक्रमअन्तर्गत सप्तरी, सिरहा, धनुषा र महोत्तरीका मात्र १९० हेक्टर क्षेत्रमा डिप ट्युबवेलमार्फत सिँचाइ भइरहेको छ । भूजलको सतह घट्दै गएपछि ट्युबवेल सिँचाइ पनि दीर्घकालीन रूपमा भरपर्दो नहुने चिन्ता बढेको छ ।

मधेश प्रदेश सरकारका अनुसार कुल ५ लाख ४२ हजार ५८० हेक्टर खेतीयोग्य जमिनमध्ये केवल २ लाख ७३ हजार ४१० हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा पुगेको छ । त्यसमध्ये १ लाख ५३ हजार २७ हेक्टरमा नहरमार्फत, ८७ हजार १७२ हेक्टरमा कुलोमार्फत् र २१ हजार २०७ हेक्टरमा ट्युबवेलमार्फत सिँचाइ सेवा विस्तार गरिएको छ ।

जलवायु परिवर्तन, अनियमित वर्षा र भूजल स्रोत सुक्दै जानुले मधेशको कृषि भविष्य अन्धकारमय बनाउने संकेत देखिन थालेका छन् । वर्षा अझै नहुनु र जलस्रोतहरू घट्दै जानुले किसानको लगानी र उत्पादन दुवै संकटमा पर्दै गएको छ । सिँचाइ सुविधाको अभावमा अधिकांश कृषक वर्षे धान रोप्नबाट समेत बञ्चित भएका छन् ।

कृषिविद्हरू दीर्घकालीन सिँचाइ संरचना निर्माणमा प्रदेश सरकारको ध्यान जानुपर्नेमा जोड दिइरहेका छन् । किसानहरू भने पानीको स्रोत संरक्षण, तालतलैया व्यवस्थापन र आधुनिक सिँचाइ प्रणालीमार्फत आगामी खाद्य सुरक्षाको रणनीति तय गरियोस् भन्ने माग गरिरहेका छन् ।

समयमै सिँचाइ समस्या समाधान गरिएन भने मधेशमा खाद्य संकट गहिरिन सक्ने खतरा विशेषज्ञहरूले औंल्याएका छन् ।