–ज्योति झा
जनकपुरधाम, १९ असार ।
एकचोटि गम्भीर भएर सोचौं त यदि देशमा किसान नभएको भए के बाँच्न सकिन्थ्यो? कसैको पेट भर्ने थियो? जस्तै आमा बुबा जन्मदाता हुन् त्यस्तै किसान पालनहार । किसानकै रगत र पसिनाको मिहिनेतले हाम्रो पेट भर्छ । हरेक पेशा भन्दा माथि म किसानको कर्मलाई बुझ्छु । आज हामी बस्ने चिल्लो कुर्सी, चम्किला अफिस, चम्किँदो करिअर यी सबैको सार्थकता के रहन्थ्यो जब पेट नै भोकै रहन्थ्यो ?

हाम्रा समाजमा डाक्टर, इन्जिनियर, पाइलट, प्रहरी, नेता बन्ने होड छ । सबैले छोराछोरीलाई ठूला मानिस बनाउने सपना देख्छन् । तर, किसान बन्ने सपना कसैले देख्दैन, देखाउँदैन । किनभने हामीले कृषिलाई कर्म नभई लाजको विषय बनाइदिएका छौं । अन्न उत्पादन गर्ने, जीवन दिने किसानलाई हामीले कहिल्यै ऊसँग सुहाउँदो सम्मान दिएका छैनौं । बरु उस्लाई गरिब, लाचार, बेशहाय ठान्छौं ।

हाम्रो घरको चुलो बल्ने र हाम्रो भोक मेटाउने प्रमुख आधार नै किसान हुन् । तर, किसान भने भोकै रात बिताइरहेका छन् । जो देश लुट्छ, उसलाई कुर्सी दिन्छौं, माला लगाउँछौं, मिडियामा उचाल्छौं । तर, जसले देशलाई जीवित राखिरहेको छ, उसलाई नजरअन्दाज गर्छौं । किसान हुँदैन भने नेताको भाषण सुनेर के गर्ने ? प्रहरीको सुरक्षाले के गर्ने ? किन चाहिन्छ पत्रकार? के गर्ने बुझेर समाचार? यो सबैको लागि पेट भरेको र खान पुगेको हुनुपर्छ । र, त्यो पुरा गर्ने माध्यम अन्नदाता हो किसान ।

किसानले उत्पादन गरेको मूल्य वस्तुगत भन्दा निकै कम पाउछन् । किसानले पलाएको गोलभेडा होस् वा चामल उसले ५० रुपैयाँमा बेच्यो भने उपभोक्ताले बजारमा त्यसैलाई ४ गुणा बढि दाममा बेच्छन् । मिहिनेत किसानको फायदा अरुको । बरु त्यसलाई कसरी व्यवस्थित गर्दा किसानले मिहिनेत बमोजिम फल पाउँछ त्यो सोच्नु पर्यो ।

अरु दिन किसानको के अवस्था छ । उनीहरूको के पीडा छ । कति मिहिनेत छ । मिहिनेतको सम्मान पनि नगर्ने हामी असार १५ आउनेबित्तिकै ‘राष्ट्रिय धान दिवस’ भन्दै धान रोप्ने ‘प्रपञ्च’ बनाउँछौं । नेता, मन्त्री, अफिसर, सेलिब्रेटी सबै झुल्किन्छन् खेतमा । हातमा कोदालो लिन्छन्, थोत्रो टोपी लगाउँछन्, केही माटो लागेपछि फोटो खिच्छन्, मिडियामा मुस्कुराउँछन् । र, पत्रकारहरु पनि किसानको तस्बिर होइन् बरु नेताहरुको फोटो लिन मग्न हुन्छन् खोज पत्रकारीता । म पत्रकार हुँ भनेर गर्व गर्छन् ।

फोटो सेसन भइसकेपछि अर्काे दिनदेखि फेरि किसानको पीडा सबैले बिर्सन्छन् । खेतको मुख हेर्न पनि जाँदैनन् । त्यति मात्र होइन, अहिलेको आधुनिक ‘धान रोपाइँ’ एउटा गमलामा सीमित छ । कार्यकर्म गर्ने र एउटै गमलामा सबैले धान रोपेर मीडिया होडबाजी कमाउने । वाह ! हाम्रा देशका नेता, मन्त्री र तिनका कार्यकर्ताहरु जय होस् ।

फोटो नै खिच्नु छ भनें किसानको मिहिनेत लगनको खिच्नुस । साँचो किसानको खेत, पसिना र पीडा कुनै फोटोमा अटाउँदैन । तर, एउटा हौसला त पाइन्छ । धान दिवस मनाउनु छ भने किसानलाई सम्मान गरियोस् । मञ्जमा बोलाइयोस । उनीहरूको पीडा सङ्घर्षको गधा गाइयोस् । यसले सायद अरु पिँढी हाम्रो आकर्षित हुन्छ कि ?

दिवसमा उसो त समाजले कहिल्यै पनि साँचो किसानलाई न त चिन्ने कोसिस गर्यो, न त सम्मान गर्ने इच्छा । कृषिले हाम्रो सभ्यता बनायो, संस्कृति टिकायो, समाज चलायो । तर, आज त्यो एक थाकेको, उपेक्षित पेशा बनेको छ । अहिले कृषकको जीवन पीडाले भरिएको छ । अवस्था दयनिय छ । र, भविष्य अन्धकारमय ।

यसो हो भने अबको पुस्ता कसरी किसान बन्ने आँट गर्छ? कसरी आमाबाबु आफ्नो सन्तानलाई किसान बनाउन प्रेरित गर्छन्? हामीले किसानलाई सम्मान गर्न सिक्नुपर्छ । कृषिलाई भविष्य बनाउने योजना आवश्यक छ । न कि एकदिने ड्रामा । नीति निर्माण कृषकमुखी हुनुपर्छ । न कि सत्ता र सत्ता चलाउनेको स्वार्थमा सीमित ।

किसानतर्फ युवाको आकर्षण न्यून छ । कसरी हामी युवाको ध्यान केन्द्रित कृषिमा गर्न सकिन्छ त्यो सोच्नु पर्ने अवस्था आएको छ । अहिले युवा विदेशमा चर्को घाममा खुन पसिना बगाउन तैयार छन् । र, बगाई पनि रहेका छन् । तर, आफ्नो गाउँ ठाउँमा किसान बन्न चाहँदैनन् किन ? कृषि आय आकर्षक बनाउन नपुग्दा युवाहरु वैदेशिक रोजगारीतर्फ धाउँछन्  । यदि हामी आज किसानको मर्म बुझ्न सकेनौं, सम्मान गरेनौ भने भोलि शहरमा बजार सुपरमार्केट भरिए पनि त्यहाँ अन्न हुँदैन । र, त्यो दिन तपाईंको पैसा भन्दा किसानको रित्तो हातको मूल्य धेरै हुनेछ ।