जनकपुरधाम, १७ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन सुदृढीकरण र डिजिटल सञ्जालमार्फत जनसम्पर्क मजबुत बनाउन आइटी सेललाई स्थानीय तहसम्म विस्तार गर्ने निर्णय गरेको छ ।

जनकपुरधाममा सम्पन्न दुई दिवसीय प्रशिक्षण कार्यक्रमपछि पार्टीले सो निर्णय सार्वजनिक गरेको हो ।

सूचना, सञ्चार तथा विज्ञान प्रविधि विभागको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा देशभरबाट करिब ८५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको समापनपछि विभागीय संयोजक तथा पार्टीका केन्द्रीय सदस्य जितेन्द्र कुमार यादवको नेतृत्वमा १६ सदस्यीय केन्द्रीय आइटी सेल गठन गरिएको जानकारी दिइएको छ ।

संयोजक यादवले प्रशिक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै भने, ‘सामाजिक सञ्जालको युगमा आइटी सेल पार्टीको सशक्त उपकरण बन्नेछ । यसले पार्टीको नीति, कार्यक्रम र सन्देश प्रचार गर्नुका साथै विपक्षीका दुष्प्रचार र भ्रम चिर्ने जिम्मेवारी पनि निभाउनेछ ।’

उनका अनुसार नवगठित आइटी सेललाई अब प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म विस्तार गरिनेछ । जसपाले यो अभियानलाई आगामी निर्वाचन लक्षित रणनीतिको एक महत्वपूर्ण पाटोको रूपमा लिएको छ ।

पार्टी भित्र सञ्चार प्रविधि उपयोगमार्फत संगठनात्मक पहुँच विस्तार गर्न थालेको यस पहललाई डिजिटल युगमा राजनीतिक प्रतिस्पर्धामा अग्रपंक्तिमा उभिनेतर्फको तयारीका रूपमा हेरिएको छ ।