संघीय निजामती ऐनविरुद्ध आजपाको प्रदर्शन, गरुडा बजारमा प्रतिलिपि जलाइयो

रौतहट, १६ असार । संघीय निजामती ऐनको विरोधमा आम जनता पार्टी (आजपा) ले सोमबार रौतहटको गरुडा बजारमा विरोध प्रदर्शन गर्दै ऐनको प्रतिलिपि जलाएको छ ।
सरकारद्वारा हालै पारित ऐनले तल्लो तहका कर्मचारीका अधिकार कुण्ठित गरेको भन्दै आजपाले सडक संघर्ष सुरु गरेको हो ।
गरुडा नगरपालिकास्थित मेथुर चौधरी चोकमा आयोजित प्रदर्शनमा आजपाका केन्द्रीय सदस्य रविन्द्र यादवको नेतृत्वमा कार्यकर्ताहरूले प्रतीकात्मक विरोध गर्दै ऐनको प्रतिलिपिमा आगो लगाएका थिए ।
कार्यक्रममा कोणसभा गर्दै नेता यादवले भने, ‘सरकारले गरिब तथा ग्रामीण पृष्ठभूमिबाट आएका कर्मचारीहरूलाई अझ कमजोर बनाउने षड्यन्त्र गरेको छ ।’
यादवले संघीय निजामती ऐन खारेज नभए आजपाले आन्दोलन थप सशक्त बनाउने चेतावनी पनि दिए । ‘यदि सरकार समयमै सचेत भएन भने सडक र सदन दुवै ठाउँबाट प्रतिरोध हुनेछ,’ उनले भने ।
पार्टीका अनुसार ऐन विशेषतः तल्लो तहका, आर्थिक रूपमा कमजोर तथा दूरदराजबाट आएका निजामती कर्मचारीहरूको भविष्यसँग खेलवाड गर्ने किसिमको भएको आरोप लागेको छ ।
पार्टी अध्यक्ष प्रभु साहले संसदको रोष्टममै ऐनको प्रतिलिपि च्यातेपछि विरोधले राष्ट्रिय ध्यान खिचेको हो । पार्टीले काठमाडौंदेखि ग्रामीण जिल्लासम्म विरोध प्रदर्शन गर्दै आएको छ ।
रौतहटको प्रदर्शनमा स्थानीय नेताहरू, कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको थियो । आजपाले ऐन खारेज नभएसम्म संघर्ष जारी राख्ने चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

