–ज्योति झा
जनकपुरधाम, ४ असार ।
साँझ पर्नु केही समय बाँकी हुन्छ, महावीर चोक विस्तारै ब्युँझिन थाल्छ । यति नै बेला एक पुरानो ठेलामा गोलगप्पाका भाँडाकुँडा मिलाउँदै देखिन्छन् रवीन्द्र महतो । २५ वर्षदेखि जनकपुरधामका स्वादे पसलहरूमा एक परिचित नाम बनिसकेका छन् महतो ।

बेलुका ४ बज्नासाथ त्यो ठेला जनकपुरबासीहरूको रोजाइ बन्छ । यही ठेलाले एक परिवारलाई २५ वर्षदेखि जीवन दिएको छ । यो ठेला चलाउने व्यक्ति हुन् ४२ वर्षीय रवीन्द्र महतो ।

महतोको जन्म भारतमा भएको हो । परिवारको आर्थिक अवस्था कमजोर थियो । कक्षा ५ पछि पढाइ अगाडि बढाउन सकिएन । ‘गरिबीले पढ्न पाइएन,’ उनी भन्छन्, ‘तर जीवनले पढाइ नभए पनि संघर्षको पाठ राम्रैसँग पढायो ।’

२५ वर्ष अघि ठूलो दाइसँगै नेपाल आउनुपर्ने परिस्थिती बन्यो । उनी भन्छन्, ‘यहाँको संस्कृति, मानिस, भाषा सबै आफ्नै जस्तो लाग्यो । केही समयमै अब यहीँ बस्ने निर्णय गरें । भारतबाट आएको छु । तर, अहिले यो माटो मेरो जस्तै भइसकेको छ । यहाँको वातावरण, मानिस ,व्यवहार सबै मन पयो । यहीँ बस्न थालेँ ।’

उनी अहिले पनि जनकपुरधामको महावीर चोकमा हरेक दिन बेलुका ४ बजेदेखि राति १० बजेसम्म गोलगप्पा बेच्ने गर्दछन् । दैनिक १ हजार रुपैयाँसम्म आम्दानी हुन्छ, कहिले काँही २ हजारसम्म पनि । महतोका २ छोरी र २ छोरा छन् । छोरा अहिले भारतमा पढ्दै छन् । ‘पढाइ रोकिएको थियो मेरो । तर, मेरा छोराछोरीले अगाडि बढून भन्ने चाहना छ,’ उनी भन्छन् ।

हाल उनी जनकपुरधाममै भाडाको कोठामा परिवारसहित बस्छन् । धेरै आम्दानी नभए पनि सन्तुष्ट छन् ।

‘पैसा थोरै होला । तर, शान्ति छ, खुशी छ, ’उनले भने । महतोका गोलगप्पा अहिले जनकपुरधामका धेरै युवायुवतीहरूका लागि स्वाद र सम्झनाको प्रतीक बनिसकेको छ । उनले न त कुनै ठूलो व्यापार गरेका छन्, न त तामझाम । तर, सानो ठेलामा पसिना बगाएर कमाएको पैसाले परिवार चलाएर सन्तुष्ट छन् ।

‘सपना धेरै थिए, अझै छन्,’ उनी भन्छन्, ‘तर, म अहिले जे छु, जहाँ छु, खुसी छु ।’ कहिलेकाहीँ सोचिन्छ यदि पढ्न पाएको भए कस्तो हुन्थ्यो?’ उनी भन्छन्, ‘तर, फेरि लाग्छ जे पाइयो त्यही ठिक छ । मेरा छोराछोरीको भविष्य उज्यालो भए पुग्छ ।’

आज जब हामी विकास, विदेश, व्यापार, करोडौंको लगानीका कुरा गर्छौं, त्यहीँ कतै छायाँमा लुकेका हुन्छन् रवीन्द्र महतो जस्ता पात्र । जो साँच्चिकै श्रमले देश चलाइरहेका छन् । जो सन्तुष्टीको स्वाद चाख्दै जीवनलाई अर्थ दिइरहेका छन् ।