–ज्योति झा
जनकपुरधाम, २८ जेठ ।
साँझ पर्न थालेको हुन्छ । जनकपुरधामको शिवचोक क्षेत्र विस्तारै उज्यालोबाट अँध्यारोतर्फ ढल्कँदै जान्छ । शिव मन्दिरको पछाडिपट्टि सानो खाटमाथि थकाइ लागेका पाइला टेकेर धेरै जना बसिरहेका हुन्छन् । कोही काजगमा मुरही हालिरहेका हुन्छन् भने कोही चप कचरीको अर्डर गरिरहेका हुन्छन् । यसै भिडभाडको केन्द्रमा हुन्छिन् ६५ वर्षीया रामदुलारी कलवार चौधरी ।

कपाल चाँदीजस्तै सेतो भइसकेको छ । अनुहार चाउरीले ढाकिएको छ । हातहरूमा समयले छोएजस्तो रेखा देखिन्छ । तर, ती रेखाभित्र लुकेको देखिन्छ उनको आत्मसम्मान, श्रमको आदत र नथाक्ने जोश ।

‘काम गर्नेलाई उमेरले रोकेको हुन्न,’ उनी भन्छिन्, ‘शरीर कमजोर होला तर मन अझै बलियो छ ।’

शिव मन्दिर पछाडीको यो सानो पसल कुनै सामान्य नास्ता पसल होइन । यो संघर्ष, श्रम र स्वाभिमानको चलायमान स्मारक हो । यहाँको मुरही, कचरी, चप, अनि घुग्निको स्वादमा मिसिएको छ रामदुलारीको लामो सङ्घर्षको पसिना ।

सुरुमा जनकपुर आएर श्रीमानसँग केही वर्ष राम्रो बित्यो । तीन छोरी र दुई छोराको सन्तान सुख अनुभव गरिन् । छोरीहरूका बिहे भए । छोराहरू अहिले काम गर्छन् । तर, जीवन भने सधैं एकै किसिमले अघि बढ्दैन ।

‘श्रीमानको स्वास्थ्य बिग्रँदै गयो । धेरै उपचार गरियो । ऋण थपियो । अन्ततः एक बिहान उनी कहिल्यै नउठ्ने गरी निदाए,’ उनी सम्झिन्छिन् ।

यो घटनाले रामदुलारीको जीवनमा साहस, निरन्तर श्रमको र आत्मनिर्भरताको नयाँ अध्याय सुरु गर्याे ।

घरमा बुहारी छन् । छोराहरू पनि कमाइ गर्छन् । तर, रामदुलारी अझै प्रत्येक साँझ शिव मन्दिर पछाडी खाटमा पसल थाप्छिन् ।

आफैंलाई प्रोत्साहन दिँदै उनी भन्छिन्, ‘सबैको साथ छ । तर, किन अरूमाथि भर पर्नु? जबसम्म शरीर चलेको छ तबसम्म आफैं काम गर्छु ।’

साँझ ६ बजेदेखि रातको १०–११ बजेसम्म उनका ग्राहकहरू पसलमा आउने गर्छन् । विद्यार्थी, पत्रकार, नेता, कानुन व्यवसायी, अफिस फर्किएका कर्मचारी सबै उनलाई ‘रामदुलारी आमा’ भनेर बोलाउँछन् । उनका परिकार सस्तो, स्वादिलो र सफा छन् ।

रामदुलारीको सपनाको मूल्य लाखौँमा नापिन्छ । तर, त्यो सपना सधैं एउटा चोकमा सानो खाटमा पसल लगाएर कमाउने पैसामा सीमित रहन्छ ।

‘म एउटा सानो घर बनाउने सपना देख्छु । भाडाको घरमा बस्छु । कहिले खाली गर्नुपर्ने हुन्छ थाहा छैन,’ उनी भन्छिन् ।

उनी अहिले पनि सुकुम्बासी छन् । सरकारी कुनै योजना उनसम्म कहिल्यै आइपुगेन । तर, उनले सरकारको योजना नभए पनि प्रत्येक बिहान उठ्ने, इमानदारीले काम गर्ने र केही पैसा बचत गर्ने आफ्नै योजना बनाएकी छन् ।

जब अहिलेका युवा ’काम छैन’, ’थकाइ लाग्छ’, ’सम्भावना छैन’ भन्दै बौद्धिक बहस गर्छन्, त्यही समय रामदुलारीजस्ता महिलाहरू श्रममा रमाइरहेका हुन्छन् । उनीहरू भाषण होइन, कर्म गर्छन् । उनीहरू अखबारको हेडलाइन नभई जनजीवनको मूल प्रवाह हुन् ।

रामदुलारी आफूलाई कहिले असक्त, वृद्ध वा थकित ठान्दिनन् । उनी भन्छिन्, ‘सपना हेर्न उमेर चाहिंदैन । बस्, प्रयास गर्नु पर्छ ।’