धनुषाधाम संरक्षित वन संरक्षणमा गम्भीर बन्नुपर्छ : मन्त्री यादव

जनकपुरधाम, २४ जेठ । धार्मिक, ऐतिहासिक र जैविक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने धनुषाधाम संरक्षित वन क्षेत्रको अवलोकन गर्दै मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजय यादवले दीगो संरक्षण र पर्यटकीय विकासमा सरकारको प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार निरीक्षणका क्रममा मन्त्री यादवसँग प्रदेश वन निर्देशनालयका निर्देशक जगन्नाथ प्रसाद जयसवाल, डिभिजनल वन अधिकृत विनोद सिंह, सब–डिभिजन प्रमुख शंकरनारायण झा लगायतको प्राविधिक टोली सहभागी थियो । निरीक्षणमा रामायण बाटिका, श्मशान घाट, धार्मिक स्थललगायत संरक्षित वन क्षेत्रका विभिन्न पक्षको अवस्थाबारे प्रत्यक्ष जानकारी लिइएको थियो ।

निरीक्षणपछि मन्त्री यादवले भने, ‘धनुषाधामलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न मधेश सरकार गम्भीर छ । वन क्षेत्रको संरक्षणसहित पूर्वाधार विकासमा मन्त्रालयको तर्फबाट आवश्यक स्रोत र सहयोग सुनिश्चित गरिनेछ ।’
निरीक्षणका क्रममा मन्त्री यादवसहितको टोलीले श्मशान घाट प्रवेशद्वार नजिक वर र पिपलका बिरुवा रोपेका थिए ।
मन्त्रालयका अनुसार संरक्षित वन क्षेत्रभित्र धार्मिक सम्पदाको पुनर्जीवन, जैविक विविधताको संरक्षण तथा हरियाली विस्तारका लागि चरणबद्ध योजना निर्माणको काम अघि बढाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


