रौतहट, १६ जेठ । रौतहटको दुर्गाभगवती गाउँपालिका–५ स्थित झाझ खोलाको किनारमा शुक्रबार बिहान एक नवविवाहिताको श्रृंगारसहितको शव झाडीमा भेटिएपछि स्थानीयवासी स्तब्ध भएका छन् । शवको अवस्था र पहिरनका आधारमा यो घटना रहस्यमय र योजनाबद्ध हत्या हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ ।

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार मृतक युवतीको उमेर करिब २० देखि २५ वर्षको बीचमा रहेको अनुमान गरिएको छ । शव घोप्टो अवस्थामा झाडीभित्र भेटिएको थियो । अनुहार क्षतविक्षत अवस्थामा रहेकोले तत्काल पहिचान गर्न कठिनाइ भएको प्रहरीको भनाइ छ ।

शवसँगै भेटिएका वस्तुहरूले मृतक युवती नवविवाहिता भएको संकेत गर्छन् । घटनास्थलमा नाकमा सुनको नथिया, हातमा रातो धागो, मेहंदी, गोडामा चाँदीको पाउजु र आकाशे रंगको नेल पालिसका साथै फिक्का हरियो रङमा सेतो बुट्टा भएको कुर्ता–सुरुवाल र हल्का बैजनी रंगको चप्पल भेटिएको प्रहरीले जानकारी दिएको छ ।

सामान्यतया, हत्या गरेर गहना चोरी गरिन्छ भन्ने प्रचलित मान्यता विपरीत यो घटनामा गहना र श्रृंगारका सामग्रीहरू जस्ताको तस्तै भेटिनुले घटनालाई थप रहस्यमय बनाएको छ । शवको पहिचान अझै नखुलेको कारण प्रहरीले सार्वजनिक सहयोगको अपिल गरेको छ । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, गौर को शवगृहमा राखिएको छ ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार शव एक–दुई दिनअघि हत्या गरेर यहाँ ल्याएर फालिएको हुनसक्छ । यद्यपि घटनाको प्रकृति, शरीरमा देखिएका चिन्ह र शवको अवस्था हेर्दा हतियार प्रयोग गरेर गरिएको अपराधको सम्भावना खुल्दै गएको छ ।