जनकपुरधाम, ९ जेठ । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशभर बढ्दै गइरहेको अपराधको मूल जड लागुऔषध रहेको उल्लेख गर्दै अपराध नियन्त्रणका लागि समन्वित र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

संघीय र प्रदेश गृहमन्त्रालयको संयुक्त आयोजनामा जनकपुरधाममा सुरु भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री लेखकले मधेश र समग्र देशमा बढ्दो अपराध, सडक दुर्घटना, आत्महत्या, र साइबर क्राइम जस्ता समस्याहरुको मूल कारण लागुऔषध रहेको बताए ।

उनले भने, ‘देशको सबैभन्दा ठूलो चुनौती लागुऔषध हो । यसको प्रभावले सडक दुर्घटना, आत्महत्या, साइबर अपराध लगायतका धेरै सामाजिक विकृति बढिरहेका छन् । सबै अपराधको जड यही हो ।’ उनले मधेश प्रदेशको भूगोल, सामाजिक संरचना र भाषा संस्कृतिको एकरूपताले अपराध नियन्त्रणमा सहजता ल्याउने उल्लेख गरे ।

गृहमन्त्री लेखकले नेपाल सधैँ प्राकृतिक विपद्को जोखिममा रहेको भन्दै यस्ता जोखिमलाई मध्यनजर गर्दै सुरक्षा संयन्त्र सदैव तयारी अवस्थामा रहनुपर्ने आवश्यकता औंल्याए । उनले थपे, ‘भूकम्प, बाढी, पहिरो, आगलागीजस्ता विपद् कहिल्यै पनि आउन सक्छन् । त्यसको लागि पूर्वतयारी र समन्वय अनिवार्य छ ।’

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकार मातहतमा सुरक्षा प्रशासन ल्याउन संघीय सरकारको ढिलासुस्तीप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘हाम्रा सुरक्षाकर्मीहरू अझै पनि त्रिपाल र झोपडीमा बसेर सेवा दिइरहेका छन् । यो अवस्था संघीयताको मर्म विपरीत हो । प्रदेश सरकारलाई आफ्नो सुरक्षा संयन्त्र मजबुत बनाउन कानुनी र संरचनागत अधिकार हस्तान्तरण हुनुपर्छ ।’

मुख्यमन्त्री सिंहले अपराध नियन्त्रण र नागरिक सुरक्षाको प्रत्याभूति दिन संघीय र प्रदेश सरकारबीच स्पष्ट कार्यविभाजन र सहकार्य आवश्यक रहेको बताए ।

मधेश सरकारका गृहमन्त्री तथा सञ्चार र कानुन मन्त्री राजकुमार लेखीले मधेशमा सुरक्षाकर्मीहरूको अवस्थालाई ध्यानमा राख्दै संघीय सरकारलाई गम्भीर बन्न आग्रह गरे । उनले भने, ‘संघीयताको अभ्यासमा हामी अझै पनि सुरक्षाको विषय संघको नियन्त्रणमा छ भन्ने अवस्थाबाट गुज्रिरहेका छौं । यो अब परिवर्तन हुनुपर्छ । हामी प्रदेशको सुरक्षालाई आफैं सम्हाल्न सक्षम छौं, त्यसका लागि आवश्यक संरचना र स्रोत साधनको व्यवस्थापन संघीय सरकारले तत्काल गर्नुपर्छ ।’

गोष्ठीमा नेपाली सेनाका उपरथी निर्मल कुमार थापा, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, मधेशमा खटिएका तीनवटै सुरक्षा अंगका प्रमुख तथा प्रतिनिधि साथै आठवटै जिल्लाका सुरक्षा तथा प्रशासन प्रमुखहरूको उपस्थिति रहेको छ ।

यो सुरक्षा गोष्ठी सात प्रदेशहरूमध्ये पाँच प्रदेशमा सम्पन्न भइसकेको र अब बागमती प्रदेशमा हुने बताइएको छ । मधेशमा भएको यो गोष्ठी प्रदेश र संघीय सरकारबीच समन्वयात्मक सुरक्षा नीति निर्माण र कार्यान्वयनका लागि एक महत्वपूर्ण प्रयासको रुपमा हेरिएको छ ।