जनता हिँड्ने बाटोमा हिलो, पहुँचवालाको घरसम्मै पिच

जनकपुरधाम, ६ जेठ । जनकपुरधाम उपमहानगरपालिका–४ अन्तर्गतको राजर्षि जनक क्याम्पस जाने मुख्य सडकको दयनीय अवस्था लामो समयदेखि बेवास्तामा परेको भन्दै स्थानीयवासीहरु आक्रोशित बनेका छन् ।
दैनिक हजारौं विद्यार्थी, अभिभावक र सर्वसाधारण आवतजावत गर्ने उक्त बाटो हिलाम्मे, जलमग्न र जोखिमपूर्ण बनेपछि जनताले ‘जहाँ पहुँच, त्यहाँ पिचः जहाँ जनता, त्यहाँ हिलो’ भन्ने नारा उचालेका छन् ।
उक्त सडक आसपासमा ३–४ वटा विद्यालय, एक क्याम्पस र दर्जनौँ कोचिङ सेन्टरहरू रहेका छन् । तर पनि शिक्षार्थी र स्थानीयवासी दैनिक ज्यान जोखिममा राखेर हिँड्न बाध्य छन् । स्थानीय विजयमोहन प्रतिहस्त भन्छन्, ‘नगरप्रमुखको स्वार्थ जोडिएका क्षेत्रहरू पिच गरिन्छन् । जनताको दुःखमा भने नजर पुग्दैन । यदि नाला सफा गरेर ग्रेभेल हालिएको भए अहिलेको समस्यामा केही राहत हुनेथियो ।’
त्यसैगरी, स्थानीय अमित झा भन्छन्, ‘यहाँ काम नहुने प्रमुख कारण कमिसन खाने प्रचलनले हो । सबै उच्चपदस्थ व्यक्ति यही छन् । तर, कसैसँग एकरूपता छैन ।’ अर्का स्थानीय निरज झा त अझ कठोर शब्दमा भन्छन् । ‘अन्हेर नगरी चौपट राजा’ भन्दै उनले उपमहानगरपालिकाको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।
स्थानीयका आरोपबारे नगरप्रमुख मनोज कुमार साहले भने, ‘हामीसँग २५ वटै वडाबाट गुनासो आउँछ । बजेट सीमित भएकाले प्राथमिकताको आधारमा काम भइरहेको छ । राजर्षि जनक मार्गको बारेमा जानकारी पाइसकेका छौँ । आगामी योजनामा ग्रेभेल र नाला सफा समावेश गरिएको छ ।’ उनले आफूमाथि लागेको निजी स्वार्थअनुसार सडक पिच गरिएको आरोपलाई ‘भ्रामक र आधारहीन’ भन्दै खण्डन गरे ।
वडा नं. ४ का अध्यक्ष सुरेश झा पण्डितले सडकको अवस्था गम्भीर रहेको स्वीकार गर्दै केही दिनभित्रै नाला सरसफाइ र ग्रेभेल हाल्ने काम सुरु गरिने बताएका छन् । ‘म स्थानीयको पीडा बुझ्छु, अब ढिलाइ नगरी समाधानतर्फ लाग्नेछु,’ उनले भने ।
स्थानीय बासिन्दाहरूले उपमहानगरले विकास योजनामा दोहोरो मापदण्ड अपनाइरहेको आरोप लगाएका छन् । ‘जहाँ पहुँचवालाको घर, त्यहाँ पिचः जहाँ जनताको माग, त्यहाँ हिलो,’ स्थानीय रुवी झाले प्रश्न गरिन्, ‘यो कस्तो शासन हो?’ उनले थपिन्, ‘जनताको गुनासोलाई ठोस कार्ययोजनामा परिणत गर्न नसक्दा विकासका नाराले जनताको जीवन सहज हुँदैन ।’
राजर्षि जनक मार्ग मात्र नभई जनकपुरधामका अधिकांश शिक्षण संस्थाका आसपासका बाटो पनि उस्तै बेवस्थित छन् । विद्यालय, कलेज, कोचिङ सेन्टरजस्ता शिक्षण केन्द्रमा पुग्ने बाटोको हालत यस्तो हुँदा शिक्षाको महत्वप्रति राज्यसंयन्त्र कति गम्भीर छ भन्ने प्रश्न उठेको छ ।
स्थानीयवासीले नगर र वडास्तरीय समन्वयको अभाव र कार्यप्रतिको इच्छाशक्तिको कमीलाई मूल समस्याको रूपमा देखेका छन् । उनीहरू भन्छन्, ‘अब आश्वासन दिने समय सकिएको छ । जनताको गुनासो सुनिन्छ । तर, सुनुवाइ हुँदैन । समयमै समाधान नभए आन्दोलन गर्ने विकल्प खुला छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


