–ज्योति झा
जनकपुरधाम, २३ वैशाख ।
आज जनकपुरधाम श्रद्धा, आस्था र चेतनाको भव्य स्वरूपमा रूपान्तरण भएको छ । वैशाख शुक्ल नवमी अर्थात् जानकी नवमीको अवसरमा लाखौं श्रद्धालुहरूको आगमनसँगै सीता जन्मस्थल जनकपुरधाम फेरि एक पटक राष्ट्रिय विमर्शमा प्रवेश गरेको छ । तर, यो दिन केवल धार्मिक अनुष्ठानको दिन मात्र नभई जनकपुरधामको सामाजिक, सांस्कृतिक र राजनीतिक पहिचानको पुर्नस्थापना गर्ने क्षण पनि हो । राजर्षि जनकले हलो जोत्दा माटोबाट जन्मिएकी सीता एक धार्मिक पात्र मात्र नभई नारी चेतनाको आदर्श र शासकको उत्तरदायित्वको स्मरण हुन् ।

सीताको जीवन, विवाह, वनवास र अग्निपरीक्षा महिलाले भोग्नुपर्ने सामाजिक मूल्य मापनको दर्पण हो । उनले पीडा सहिन्, तर आत्मसम्मान गुमाइनन् । आजको समाजलाई उनीबाट न्याय, सहिष्णुता र स्वाभिमान सिक्न जरुरी छ । आजको दिन केवल एक धार्मिक पर्वको तिथि मात्र नभई ऐतिहासिक अवसर हो । नेपाली माटोको कोखबाट जन्मिएकी एक देवीले सम्पूर्ण हिन्दू सभ्यता, नारी चेतना र सामाजिक न्यायलाई नयाँ परिभाषा दिइन् । वैशाख शुक्ल नवमी अर्थात् जानकी नवमी । जनकपुरधाममा आज भव्य रूपमा मनाइँदैछ । तर, यो उत्सव पूजा र भजनसम्म सीमित छैन । यो पर्व जनकपुरधामको आत्मा, मिथिलाको पहिचान र सम्पूर्ण नेपाली समाजको वैचारिक पुनर्जागरणको आवाज हो ।

राजर्षि जनक हलो जोतेर माटो फोडिरहेका बेला सीताको उत्पत्ती भयो भन्ने विश्वास हाम्रो पुराण र स्मृतिमा गहिरिएर बसेको छ । तर, यो केवल धार्मिक कथा होइन । यो एक गहिरो सामाजिक र राजनीतिक सन्देश हो । जनकको हलो माटोमा गाडिनु भनेको राज्यसत्ता र जनताको सम्बन्धलाई पवित्र बनाउनु हो । जनकले राजा भएर पनि हलो जोते, माटोसँग सम्बन्ध जोडे—यो शासन केवल सत्ताको होइन, सेवाको माध्यम हुनुपर्छ भन्ने विचारको प्रतीक हो । सीता पृथ्वीपुत्री हुन् त्यसैले उनी केवल मिथिलाकी पुत्री मात्र होइनन्, सम्पूर्ण मानव सभ्यताकी प्रतिनिधि छन् । उनी नारीका रूपमा आदर्श, धर्मका रूपमा स्थायित्व अनि समाजका रूपमा आत्मसम्मानको मूर्ति हुन् ।

जनकपुरधाम आज श्रद्धालुहरूको लहरले भरिएको छ । जानकी मन्दिरमा हजारौं भक्तजन दर्शन र पूजामा लीन छन् । तर, त्यो आस्थाको लहरसँगै एक गहिरो पीडाको सन्देश पनि पोखिएको छ । सीताको माइतीघर अझै विकास र न्यायका दृष्टिमा उपेक्षित छ ।
राज्यका नीति निर्माताहरूका लागि जनकपुर अझै ‘धार्मिक गन्तव्य’ मात्र हो । यहाँको आर्थिक, पूर्वाधार र राजनीतिक विकास प्राथमिकतामा छैन । पार्किङ, सरसफाइ, पर्यटक सूचना केन्द्र, शौचालय, आपतकालीन स्वास्थ्य सेवा—यी सबै कुरामा जनकपुरधाम अझै चुपचाप आफ्ना श्रद्धालुलाई स्वागत गरिरहेको छ । तर, उनीहरूको सम्मान गर्न नसक्ने अवस्थाले गुज्रिरहेको छ ।

मिथिला केवल धार्मिक भूगोल होइन, यो एक समृद्ध सभ्यता हो । गार्गी, याज्ञवल्क्य, मंडन मिश्र, जानकी—यी सबै मिथिलाका प्रतीकहरू हुन् । यीनले संस्कृत भाषा, दर्शन, न्यायशास्त्र र नारी शिक्षा जस्ता क्षेत्रमा योगदान दिएका थिए । मिथिलामा न्याय थियो, विवेक थियो र शासनमा सेवा भाव थियो ।

आज जानकी नवमीको अवसरमा त्यो गौरवशाली अतीत सम्झिँदा लाग्छ—यदि राज्यले मिथिलालाई ‘संघीय सांस्कृतिक राजधानी’को रूपमा स्वीकार्न सक्यो भने नेपालले आफ्नो साँस्कृतिक धरोहर मात्र होइन, आर्थिक र वैचारिक नेतृत्व पनि फेला पार्नेछ । जानकी नवमी केवल धार्मिक पर्व होइन, यो नेपालको संविधानमा स्थापित सांस्कृतिक अधिकारको मूर्त रूप हो । यो त्यो दिन हो जब सम्पूर्ण राष्ट्रले नारी चेतनाको आरम्भ, मातृभूमिसँगको सम्बन्ध र न्याय–नीतिका मूल्यहरूलाई सम्झनुपर्छ ।

राज्यले अब जानकी नवमीलाई राष्ट्रिय सांस्कृतिक पर्वको मान्यता दिनुपर्छ । यसले मिथिलाको अस्तित्वलाई राष्ट्रिय विमर्शमा ल्याउनेछ । जनकपुरधामको पुनर्जीवनको मार्ग खोल्नेछ र धार्मिक पर्यटनलाई आर्थिक समृद्धिको रूपान्तरणमा बदल्नेछ । जनकपुरधामको दीर्घकालीन विकासका लागि राम–जानकी परिक्रमा मार्गको स्तरोन्नति, पार्किङ, सरसफाइ र सुरक्षा व्यवस्थाको सुधार, डिजिटल गाइड सिस्टम र सूचना केन्द्रको स्थापना, ‘रामायण सर्किट’ अन्तर्गत धार्मिक पर्यटन प्रवद्र्धन, ‘मिथिला संस्कृति संग्रहालय’को स्थापना, विदेह विश्वविद्यालयः दर्शन, नीति, संस्कृत भाषा, लोककला र समाजशास्त्रका लागि अनुसन्धान केन्द्रको निर्माण, राम–जानकी मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा समावेश गराउने कूटनीतिक प्रयास अत्यावश्यक देखिन्छन् ।

सीता केवल एक पत्नी, माता वा देवीको भूमिकामा सीमित छैनन् । उनी बलिदान, विवेक, आत्मबल र आत्मगौरवको मूर्त रूप हुन् । उनका जीवनका हर अध्याय—जन्म, विवाह, वनवास, अग्निपरीक्षा—हाम्रो समाजमा महिलाले भोग्नु पर्ने परम्परागत मापदण्डप्रति एक मौन प्रश्न हुन् । तर, सीताले कहिल्यै आफ्नो सम्मान गुमाइनन्, आफ्नो कर्तव्यबाट पछि हटिनन् । र, अन्ततः आफूभित्रको आत्मबलबाट नै इतिहास रचिन् । आज, सीता जन्मोत्सवमा हामीले उनलाई सम्झिनु भनेको—मात्र एक पूजा गर्नु होइन, एक शिक्षालाई आत्मसात गर्नु हो ।

जनकपुरधाम, जानकीको माइतीघर, केवल एक धार्मिक स्थल होइन—यो नेपालको आत्मा हो । यदि हामीले यस धरोहरलाई केवल तीर्थस्थलको सीमामा राख्यौं भने हामी न त सीतालाई चिन्न सक्छौं, न त मिथिलाको योगदानलाई स्वीकार गर्न सक्छौं । सीतालाई सम्झनु भनेको मिथिलालाई जागाउनु हो । मिथिलाको पुनर्जागरण भनेको नेपालको वैभवको पुनरुत्थान हो । अब समय आएको छ—जानकीको माटोलाई श्रद्धा मात्र होइन, नीति र योजनामा पनि स्थान दिने । जनकपुरधामलाई हामीले भविष्यको सांस्कृतिक राजधानीको रूपमा हेर्न सक्नुपर्छ, जहाँ धर्म, दर्शन, नारी चेतना र न्याय सँगसँगै बाँचुन् ।

जय जानकी, जय मिथिला, जय जनकपुरधाम ।