जनकपुरधाम, २० वैशाख । बिहान सबेरै, जब सूर्यको पहेंलो किरण जनकपुरधामको प्राचीन पोखरीहरूमा पर्छ, त्यसै बेला बिहार कुण्डको उत्तर किनारमा एक मीठो स्वर लहराउँछ—कहिलेकाहीं कुनै भक्तिगीतको रूप लिन्छ, कहिलेकाहीं मैथिली परम्पराको पीरपिरो लोकस्वर बन्छ । त्यो स्वर वैदेही ठाकुरको हो । तर, त्यो स्वर एक्लो छैन । त्यो स्वरसँगै हुन्छ तबलाको मधुर ताल—जो हरेक हरफमा गहिरो आत्मीयता भरिदिन्छ । त्यो ताल वैदेहीका भाई जानकी रमण ठाकुरको औँलाबाट निस्किएको हुन्छ ।

कक्षा ११ मा अध्ययनरत वैदेही ठाकुरका लागि गीत केवल कला मात्र नभई उनको स्वाँसजस्तै अटुट छ । उनी भन्छिन्, ‘जुन दिन म गाउदिन, त्यस दिन मन थाकेजस्तो लाग्छ । गीत मेरो आत्मा हो ।’

बिहानको पहिलो उज्यालोबाट साँझको सिन्दूरी आकाशसम्म वैदेही स्वर साधनामा रमाउँछिन् । उनका लागि स्वर केवल आवाज होइन, त्यो पूजा हो, त्यो भक्ति हो—मिथिला संस्कृतिप्रति आफ्नो जरा र आत्माप्रति अर्पण गरिएको तपस्या हो ।

वैदेहीको पहिलो संगीत गुरु हुन् उनका आफ्नै पिता — मोहन शरण ठाकुर । उनी आफैं जनकपुरधामका एक प्रतिष्ठित पारम्परिक गायक हुन् । वैदेहीले पहिलो स्वर बाबुको घाँटीबाट सुनेकी थिइन् र पहिलो राग उनीकै काखमा बसेर आत्मसात गरेकी थिइन् ।

‘म जब सानी थिएँ, बाबु बिहारी कुण्डका पूजा–उत्सवहरूमा गीत गाउन जानुहुन्थ्यो । म पनि पछिपछि जान्थें । त्यहाँ सुनेको गीतहरू म घरमा दोहोर्याउने गर्थें, बाबुले सुधार्ने गर्नुहुन्थ्यो,’ उनी सम्झिन्छिन् ।

शब्द नबुझिए पनि सुरले मन छुन्थ्यो । र, यही बाटोले उनलाई स्वरको संसारमा पुर्यायो । वैदेहीका भाइ जानकी रमण ठाकुरले दिदीको स्वरलाई तबलाको तालबाट आत्मा दिएका छन् । अहिले जनकपुरधामको प्रतिभाशाली बाल–वादकका रूपमा चर्चामा छन् ।

‘दिदीले गाउनु हुन्थ्यो, म टेबलमा, भाँडामा ताल दिन्थें । पछि बाबुले तबला किन्नुभयो, म सिक्न थालेँ,’ जानकी रमण मुस्कुराउँदै भन्छन् ।

तिनीहरूलाई एउटै रियाज कक्ष हुन्छ—आँगनको एउटा कुनो, जहाँ बिहानको पूजा सकिएपछि दिदी गाउन थाल्छिन् र भाइ तबला बजाउँछन् । त्यो आँगन अहिले सजीव संगीतघर बनेको छ । वैदेहीको जीवन कुनै संगीत विद्यालयमा बन्द भएको होइन । उनी सामान्य विद्यार्थी हुन् । विद्यालय जान्छिन्, परीक्षा दिन्छिन्, गृहकार्य गर्छिन् । तर, उनका लागि गायन यति आत्मीय छ कि उनले समय छुट्याएर अभ्यास गर्छिन् ।

‘पढाइ र गायन सँगसँगै मिलेको छ । मलाई गीतले तनाव घटाउँछ, पढ्न सजिलो बनाउँछ,’ उनी भन्छिन् ।

उनकी आमा लक्ष्मी ठाकुर भावुक हुँदै भन्छिन्, ‘छोरीको स्वर सुन्दा म पूजामा पसेजस्तो लाग्छ । छोराले ताल थप्दा लाग्छ दुर्गा–सरस्वतीको कृपा पाएको छु ।’

वैदेही र जानकी रमण कुनै पप स्टार बन्ने सपना देखिरहेका छैनन् । उनीहरू चाहन्छन् मिथिलाको मौलिक स्वर विश्वसम्म पुर्याउन । त्यो लोकगीत होस्, भक्ति होस्, विवाह गीत होस् या व्रत कथा—सबैमा उनीहरूको आत्मा बस्छ ।

‘हामी मोबाइलमा विदेशी गीतहरू सुन्छौं । तर, आफ्नै गीति परम्परा बिर्सन लागिएको छ । म चाहन्छु, फेरि बिहार कुण्ड वरिपरि मैथिली गीत गुञ्जियोस्, त्यो हाम्रो कामबाट सुरु होस्,’ वैदेही भन्छिन् ।

जानकी रमणको सपना छ—‘म तबलामा अझ निपुण बन्न चाहन्छु । म चाहन्छु दिदी जहाँ गाएकी छन्, म त्यहीँ साथ दिऊँ ।’

वैदेहीको आवाजमा पनि आशा भरिएको छ । उनी भन्छिन्, ‘म गायनलाई छोड्दिन । गीतमा म आफूलाई भेट्छु । यो मेरो धर्मजस्तै छ ।’

बिहारी कुण्डका किनारामा उभिएको त्यो ‘जुगल जोडी स्थान’ साक्षी छ—जहाँ वैदेही र जानकी रमणले संगीतलाई मात्र नभई संस्कार र समर्पणलाई जीवनको मूल मन्त्र बनाएका छन् ।

उनीहरू कुनै रियालिटी शोका चम्किला नाम होइनन् । उनीहरू मिथिलाको माटोबाट उम्रिएका सुर र ताल हुन्—जो अझै पनि साँचो साधनाबाट उठेका छन् ।

वैदेही र जानकी रमणको साङ्गीतिक यात्रा कुनै आधुनिक संगीतशालाबाट सुरु भएको होइन । उनीहरूको ‘गुरु गृह’ आफ्नै घर हो । ‘४ कक्षामा पढ्दापढ्दै म गीतहरु सुन्दै हुर्कें । त्यो बेला बिहारी कुण्ड वरपरका उत्सवमा बाबुसँग जान्थें । गीत बज्दा म चुपचाप सुन्थें, अनि कोशिश गर्थें त्यही स्वर दोहोर्याउन,’ वैदेहीले सम्झिन्छिन् ।

सुरुवातमा केवल दिदीको गीत हेरेर ताली ठोक्ने जानकी रमण अहिले तबलामा दक्ष बनिसकेका छन् । ‘दिदीले गीत गाउन थालेपछि म पनि तबला बजाउन सिक्न थाले । सुरुमा खेलजस्तै थियो । पछि संगीतप्रतिको झुकाव बढ्दै गयो,’ उनी भन्छन् ।

वैदेहीका हरेक रियाजमा जानकी रमणको साथ छुट्दैन । वैदेहीको दिन सुरु हुन्छ स्वर साधनाबाट । बिहानको पूजा र परिवारको साथसाथै उनले बिहान र बेलुका कम्तीमा एक घण्टा रियाज गर्छिन् । शास्त्रीय संगीतमा पनि उनले राम्रो पकड बनाएकी छन् । तर, उनलाई पारम्परिक मैथिली गीत बढी प्रिय लाग्छ ।

‘मिथिलाको गीत गाउदा लाग्छ म आफैं त्यो संस्कृति भित्र पसें । यो हाम्रो चिरकालीन परम्परा हो । यसलाई म नयाँ पुस्तासम्म पुर्याउन चाहन्छु,’ उनी भन्छिन् ।

उनकी आमा लक्ष्मी ठाकुर पनि छोरीको प्रतिभामा गर्व गर्छिन् । ‘दुवै बच्चा मेहनती छन् । वैदेहीको स्वर सुन्दा मलाई आस्था आउँछ । जानकी रमणले तबला बजाउँदा त्यो सुर अझै प्रभावशाली लाग्छ,’ आमा मुस्कुराउँछिन् ।

वैदेही थप्छिन्, ‘गीत नगाउँदा जीवनको केही अंश छुट्यो जस्तो लाग्छ । गायन मेरो आत्मा हो । त्यसैले म यो यात्रालाई निरन्तरता दिन्छु ।’