धनुषामा आधुनिक शीतभण्डार बन्दै

जनकपुरधाम, १९ वैशाख । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–७ सखुवा बजार नजिकै पाँच सय मेट्रिक टन क्षमताको आधुनिक शीतभण्डार (कोल्ड स्टोर)को निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । तराई मधेसशका किसानहरूलाई आफ्ना कृषिजन्य उत्पादन सुरक्षित राख्न कठिन हुँदै गएको समयमा यस्तो पूर्वाधारको विकासले कृषक समुदायमा नयाँ आशा र सम्भावनाको उज्यालो देखिएको छ ।
उक्त कोल्ड स्टोर निर्माणको जिम्मा लिएको स्टोर ग्रीन नेपाल एसकेजी नामक निर्माण कम्पनीले ७ करोड २८ लाख १२ हजार ६५८ रुपैयाँको लागतमा कार्य अघि बढाइरहेको छ । २०७८/७९ को संघीय बजेट अन्तर्गत सञ्चालित कृषि व्यवसाय प्रवद्र्धन परियोजनाअन्तर्गत यो परियोजना ५० प्रतिशत अनुदानमा भइरहेको हो ।
निर्माण कम्पनीका अनुसार २०८१ साल असार २३ गते सम्झौता भई निर्माण कार्य सुरु गरिएको र आगामी २०८२ मङ्सिर २३ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । अहिलेसम्म करिब ४० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जनाइएको छ ।
यो शीतभण्डारका लागि क्षिरेश्वरनाथ नगरपालिकाले १० कठ्ठा सार्वजनिक जमिन निःशुल्क उपलब्ध गराएको हो । नगरपालिकाका अनुसार जमिन व्यवस्थापन, पहुँच मार्ग तथा सहुलियत सुविधा प्रदान गर्ने काम नगरपालिकाले लिएको छ । निर्माणस्थलको भौगोलिक स्थिति हेर्दा सखुवा बजार आसपासको दिगम्बरपुर, औरहा, इच्छापुर, शिवनगरलगायत क्षेत्रका कृषकहरू प्रत्यक्ष लाभान्वित हुने देखिन्छ ।
क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले शीतभण्डार निर्माणलाई कृषि आधारित स्थानीय अर्थतन्त्रको मेरुदण्डको रूपमा चित्रण गरे । उनले भने, ‘हाम्रो क्षेत्रका आधाभन्दा बढी किसान आलु, प्याज, बन्दा, तरकारी तथा मौसमी फलफूल उत्पादनमा आश्रित छन् । बजारमा बेलामा उचित मूल्य नपाउने, बिचौलियाको ठगी सहनुपर्ने अवस्था थियो । अब शीतभण्डार बनेपछि किसानले आफ्नो उत्पादन सुरक्षित राख्न पाउनेछन् । त्यसपछि बजार अनुकूल मूल्यमा बिक्री गर्ने विकल्प उपलब्ध हुनेछ ।’
नगर प्रमुख यादवका अनुसार यो शीतभण्डार कृषि उत्पादनको मूल्य श्रृंखला व्यवस्थापनमा गेम चेन्जर सावित हुनेछ । यो परियोजनाले कृषि, रोजगारी, किसानको जीवनस्तर गउषित गर्ने दीर्घकालीन प्रभाव पार्ने उनको विश्वास छ ।
शीतभण्डार निर्माण भइरहेको थाहा पाएपछि स्थानीय किसानहरूमा आशा र विश्वास पलाएको देखिन्छ । औरहा गाउँका कृषक सत्यनारायण साह भन्छन्, ‘हामी आलु, प्याज, तरकारी उत्पादन गर्छौं । तर, बजारमा बेलामा मूल्य नपाउँदा घाटा बेहोर्नुपर्छ । अब कोल्ड स्टोर भएको खण्डमा हामी उत्पादन राख्न सक्छौं, पछि बजार ठीक भएपछि बेच्न पाइन्छ ।’
त्यस्तै दिगम्बरपुरका एक युवाकृषक रमेश महतोले भने, ‘पछिल्ला वर्षहरूमा उत्पादन बढेको छ । तर, नाफा छैन । कोल्ड स्टोरजस्तो सुविधा नै थिएन । अब यो संरचना बनेपछि तरकारी संकलन केन्द्र, प्याकिङ, ढुवानी सबै व्यवस्थित गर्न सकिन्छ । यो त परिवर्तनको शुरुवात हो ।’
मधेश प्रदेश विशेषगरी धनुषा, महोत्तरी, सिरहा, सर्लाही लगायत जिल्लाहरू तरकारी तथा फलफूल उत्पादनको केन्द्र बन्दै गएका छन् । तर, सरकारी वा निजी क्षेत्रबाट कोल्ड स्टोरेजजस्ता पूर्वाधारमा लगानी अत्यन्त न्यून छ । जसका कारण उत्पादन गर्दा पनि त्यसको मूल्य लिन नसक्ने स्थिति छ ।
तराई क्षेत्रमा वर्षको चार महिनामा मात्रै प्रमुख तरकारी उत्पादन हुने भएकाले बाँकी महिनामा आपूर्ति संकट पर्ने समस्या पनि छ । यस्तो अवस्थामा शीतभण्डारले मौसमी असन्तुलनलाई व्यवस्थापन गर्न सघाउने, कृषि विज्ञहरूको भनाइ छ ।
धेरैजसो किसान उत्पादनपछि बिचौलिया व्यापारीको भर पर्न बाध्य छन् । बजारमा मागभन्दा आपूर्ति बढी हुँदा मूल्य निकै घट्छ । त्यसबेला किसानले अलपत्र उत्पादनलाई बेच्नुपर्छ वा फ्याल्नुपर्छ । अब शीतभण्डारको सुविधाले किसानले तत्काल नबेची पनि बजारको अनुकूल समय पर्खन सक्ने अवस्था आउनेछ ।
स्थानीय कृषि प्राविधिक रामशरण ठाकुरका अनुसार, ‘शीतभण्डारको सदुपयोग भएमा किसानको मूल्य प्राप्तिमा ३० देखि ५० प्रतिशतसम्म लाभ हुने सम्भावना छ । यो परियोजना सफल बनाउन स्थानीय सहकार्य, सहकारी र सञ्चालक समिति गठन जरुरी छ ।’
शीतभण्डार निर्माणसँगै सबैको चासो त्यसको सञ्चालन मोडेल र पारदर्शितातर्फ छ । कतिपय स्थानमा निर्माण त भएको छ तर दक्ष जनशक्ति, व्यवस्थापन समितिको अभाव, विद्युतको अनियमितता र अत्यधिक सञ्चालन खर्चका कारण सेवा प्रभावकारी हुन सकेको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


