काठमाडौँ, १८ वैशाख । नेपालमा पनि सरकारी तथा निजी क्षेत्रका श्रमिक संगठनहरूले विभिन्न कार्यक्रमसहित ‘१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस’ भव्यरूपमा मनाइरहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघले केन्द्रदेखि प्रदेशसम्मका श्रमिकहरूलाई समेट्दै ¥याली, भेलाहरू, श्रमिक सम्मान तथा श्रमको गरिमाबारे छलफल गर्दै श्रमिक दिवसलाई सशक्त रूपमा मनाएको छ । कर्मचारी संघका महासचिव डि.के. यादवका अनुसार ‘श्रमिक दिवस केवल उत्सव मात्र नभइ श्रमिकको जीवनस्तर सुधार र अधिकार सुनिश्चित गर्ने प्रेरणाको दिन हो ।’

सन् १८८६ को मे १ तारिखमा अमेरिकी शहर शिकागोका हजारौं मजदुरले आठ घण्टाको कार्यसमयको माग गर्दै विशाल आन्दोलन गरेका थिए । यात्रा शान्तिपूर्ण थियो । तर, सुरक्षाकर्मी र श्रमिकबीच झडप हुँदा कैयौंको ज्यान गयो । यही बलिदानको सम्झनामा सन् १८८९ मा पेरिसमा सम्पन्न विश्व मजदुर सम्मेलनले ‘मे १’ लाई श्रमिक दिवसको रूपमा मनाउने निर्णय गर्यो ।

तबदेखि अहिलेसम्म विश्वका अधिकांश मुलुकमा यो दिन श्रमिक वर्गको अधिकार, गरिमा र समर्पणलाई सम्मान गर्ने दिवसको रूपमा मनाइन्छ । नेपालमा पनि श्रम ऐनको सुदृढ कार्यान्वयन, सामाजिक सुरक्षा, श्रमिक न्यूनतम पारिश्रमिक लगायतका मुद्दामा यो दिन चर्चा र दवाबको दिन बन्ने गरेको छ ।

नेपालमा श्रमिक आन्दोलनको इतिहास लामो छ । खासगरी २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछि श्रमिक अधिकारको स्वर उठ्न थालेको हो । पछिल्लो संविधानले श्रमिकको संघ गठन गर्न पाउने अधिकारलाई मौलिक हकको रूपमा सुनिश्चित गरे पनि व्यवहारिक कार्यान्वयन अझै पनि चुनौतीपूर्ण छ ।

महासचिव यादव भन्छन्, ‘श्रमिक अझै पनि न्यून पारिश्रमिक, असुरक्षित वातावरण, करार श्रमिकको दोहनजस्ता समस्याबाट पीडित छन् । केवल नाराले हुँदैन, श्रमप्रति गरिमा र सम्मान व्यवहारमा देखिनुपर्छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक कर्मचारी संघको आयोजनामा श्रमिक दिवस विशेष रूपमा मनाइयो । काठमाडौंमा आयोजित मुख्य कार्यक्रममा केन्द्रिय समितिका पदाधिकारी, शाखा समितिहरू, प्राविधिक र प्रशासनिक कर्मचारीहरू सहभागी थिए ।

कार्यक्रममा श्रमिकको जीवनस्तर सुधार, कार्यस्थलमा समानता, श्रमिक कल्याणकारी योजना कार्यान्वयन तथा समावेशीकरणको सवालमा वक्ताहरूले धारणा राखेका थिए । महासचिव यादवले श्रमिकको अवस्था सुधार गर्न श्रमिक संगठन, प्राधिकरण र सरकार तीनै तहको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

श्रमिक आन्दोलनको मूल नारामध्ये एक हो – ‘आठ घण्टा काम, आठ घण्टा विश्राम, आठ घण्टा मनोरञ्जन ।’ तर, आजको प्रतिस्पर्धात्मक व्यवस्थामा श्रमिक अझै पनि १०–१२ घण्टा काम गर्न बाध्य छन् । ज्यालादारी, करार र अनियमित श्रमिकको अवस्था त अझ भयावह छ ।

महासचिव यादव भन्छन्, ‘कार्यसमय, पारिश्रमिक र कार्यस्थल सुरक्षा सुनिश्चित नगरी समुन्नत समाजको कल्पना गर्न सकिँदैन । श्रमिकको अवस्था समृद्ध भए समाज आफैं समृद्ध हुन्छ ।’

श्रमिक दिवस केवल स्मरणको विषय मात्र नभइ नीतिगत सुधारको आह्वान पनि हो । नेपालमा पछिल्लो समय सामाजिक सुरक्षा कोष, न्यूनतम पारिश्रमिकको निर्धारण जस्ता प्रयास भए पनि कार्यान्वयनको अवस्था कमजोर छ ।

यादव भन्छन्, ‘हामी केवल औपचारिक घोषणामा सीमित हुन सक्दैनौं । श्रमिकहरूको हक, अधिकार र सम्मान व्यवहारमै लागू हुनुपर्छ । श्रमको सम्मानबाट मात्रै समावेशी लोकतन्त्र सम्भव छ ।’

१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसले हामीलाई स्मरण गराउँछ – श्रमिक बिना समाजको अस्तित्व अधुरो हुन्छ । तर, श्रमिकको योगदानलाई मूल्यांकन गर्ने हाम्रो सामाजिक सोच अझै पनि पूँजीकेन्द्रित छ ।

सरकार, नीतिनिर्माता, श्रमिक संगठन र नागरिक समाज सबैले समन्वय गरेर श्रमको सम्मान सुनिश्चित गर्ने दिशा तर्फ सशक्त कदम चाल्न जरुरी छ । केवल ‘दिवस’ मनाएर होइन, व्यवहारमै श्रमिकको जीवन बदल्न सक्ने नीति निर्माण र कार्यान्वयन आवश्यक छ ।