मिथिला शहीद बलिदानी दिवस : पहिचानको खोजी र सम्मानको प्रतिक्षा

– मुरली मनोहर मिश्र,
जनकपुरधाम, १८ वैशाख । वैशाख १८ को दिन मिथिलाको इतिहासमा केवल तिथिमात्र नभइ एक बलिदानको प्रतिक हो । जनकपुरधामको हृदयस्थल रामानन्द चौकमा बम विस्फोटमा वीरगतिको प्राप्ति गर्ने पाँच सपूतहरूको सम्झनामा मनाइने ‘मिथिला शहीद बलिदानी दिवस’ आज पनि एक खिन्न प्रश्न लिएर हाम्रो सामु खडा हुन्छ—के हामीले ती वीर शहीदको सम्मान गरिरहेका छौं वा उनीहरूको बलिदान बिर्संदै गइरहेका छौं?
कलाकार रंजु झा, सुरेश उपाध्याय, विमल शरण, दीपेन्द्र दास र झगडु मण्डल—यी नामहरू केवल व्यक्तिको प्रतिनिधि होइनन्, यी मिथिला आन्दोलनको आत्मा हुन् । जब राज्यले मिथिला र मैथिलीको अस्तित्व र पहिचानप्रति आँखा चिम्लियो, तब यी साहसी सपुतहरूले आत्मबलिदान दिए । तर, आज जब हामी मिथिला विकास कोषका नाममा करोडौं रुपियाँको खर्च देख्छौं, नवनिर्मित मिथिला भवन देख्छौं—त्यसै ठाँउमा यो प्रश्न पनि जन्मिन्छ– के ती शहीदहरूको सम्झनामा कुनै स्मारक बनाइएको छ? के उनीहरूको नाम शिलापट्टमा अंकित गरिएको छ?
समाजको लागि बलिदान दिनेहरूप्रति राज्यले सम्मान जनाउनु कुनै अनौठो माग होइन । यो त सभ्यताको आधार हो । तर, यहाँ अवस्था भिन्न छ । जनकपुरधाम वडा नं. ८ मा बनेको मिथिला भवन—जसले मिथिलाको नाम बोकेको छ—त्यहाँ ती बलिदानीहरुको स्मृतिमा एउटा फूल चढाउने ठाउँ पनि छैन । न त प्रदेश सरकारले, न संघीय सरकारले, न त स्थानीय तहले नै यो अपूरणीय योगदानलाई औपचारिक रूपमा स्मरण गर्ने पहल गरेका छन् ।
सरकारले जब मिथिलाको नाममा योजना ल्याउँछ, बजेट विनियोजन गर्छ, परियोजना बनाउँछ, तब त्यो पहिचानको उपयोग हो । तर, जब ती पहिचानका लागि ज्यान दिनेहरूको नाम लिने कुरा आउँछ, तब मौनता देखिन्छ । यही मौनता नै सम्मानको अपमान हो ।
हामी जनकपुरधाम र समग्र मिथिलावासी नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग चार माग राख्छौं :
१. मिथिला आन्दोलनका शहीदहरूको औपचारिक स्मारक स्थापन गरियोस् ।
२. मिथिला भवन वा त्यसको प्राङ्गणमा शहीदहरूको नाममा स्मृति–पट्टिका राखियोस् ।
३. प्रत्येक बैशाख १८ लाई “राजकीय मिथिला बलिदानी दिवस” का रूपमा मनाउने निर्णय गरियोस् ।
४. सरकारी सहयोगमा ‘मिथिला शहीद संग्राहलय’ स्थापना गरियोस्, जहाँ ती शहीदहरूको जीवन, योगदान र आन्दोलनका दस्तावेजहरू संग्रह गरियोस् ।
यी मागहरू कुनै असम्भव छैनन्, केवल इच्छाशक्तिको कमी छ । जब राज्यले एक सन्तुलित र समावेशी इतिहास लेख्ने दाबी गर्छ, तब यस किसिमका योगदानहरूलाई समेट्नु अनिवार्य हुन्छ ।
मिथिला केवल एक भू–भाग होइन । यो एउटा जीवनशैली हो, एक संस्कृति हो, एक ऐतिहासिक परम्परा हो । मैथिली भाषा युनेस्कोले समेत विश्व सम्पदा सूचीमा राख्ने चर्चा गर्छ । तर, हाम्रो आफ्नै शासन प्रणालीमा यसको उपेक्षा हुँदै आएको छ । मिथिलाको आन्दोलन केवल भाषिक होइन, यो पहिचानको आन्दोलन हो—जहाँ भाषा, संस्कृति, भूगोल र नागरिक अधिकार एकसाथ उभिन्छन् ।
बम विस्फोटमा ज्यान गुमाउने ती पाँच सपुतहरूको बलिदान यिनै अधिकारहरूको पक्षमा थियो । उनीहरू कुनै आतङ्ककारी थिएनन्, उनीहरू सृजनात्मक कलाकार, लेखक, समाजसेवी थिए, जसले जनभावनाको आवाजलाई सार्वजनिक स्थानमा व्यक्त गर्न खोजेका थिए ।
राजनीति केवल सत्ताको खेल होइन, यो जनताको भावनासँग जोडिएको यात्रा हो । जब राज्यले कुनै आन्दोलनको पीडालाई आत्मसात गर्न सक्दैन, तब त्यो शासन यान्त्रिक मात्र रहन्छ, मानवीय हुँदैन । मिथिलाको सवाल यति संवेदनशील छ कि यसलाई बुझ्न, महसुस गर्न र सम्बोधन गर्न संवेदनशील नेतृत्व चाहिन्छ ।
हामी देख्छौं, देशका अन्य भागहरूमा शहीदका नाममा स्मारक, दिवस, संग्रहालय बनाइएका छन् । जनकपुरमा भने जुन ठाउँमा आत्मबलिदान दिइयो, त्यहीँ सम्झनाको चिनो छैन । हामी के सन्देश दिइरहेका छौं भावी पुस्तालाई?
जनकपुरले सोधिरहेको छ—मिथिलाको आत्मा जागिरहेको छ । अब यो मौन बस्दैन । बलिदानलाई अपमानमा परिणत गरियो भने त्यो आगो बन्न सक्छ । इतिहासको यही यथार्थ हो—अपमानले क्रान्ति जन्माउँछ, सम्मानले समरसता ल्याउँछ । सरकारको हातमा छ—यो विषयलाई इतिहास बनाउने कि विवाद ।
जनकपुर नागरिक समाजको तर्फबाट हामी एक स्वरमा भन्छौं, ‘बलिदानको सम्मान गर्नु सभ्य समाजको कर्तव्य हो ।’
हामी शहीदलाई बिर्सन सक्दैनौं, र न त बिर्सन दिनेछौं । समस्त शहीदप्रति हार्दिक श्रद्धाञ्जली !
जय मिथिला । जय मैथिली । जय जनकपुरधाम ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


