जानकी नवमी : मिथिलाकी छोरी, संस्कृति र सन्देशको गहिरो अन्तर्य

– नित्यानन्द मण्डल
जनकपुरधाम, १८ वैशाख । मिथिला—नेपाली भूगोलभित्रको एक ऐतिहासिक र सांस्कृतिक खजाना । यही मिथिलामै जन्म भइन् जानकी अर्थात् सीता । सीतालाई आज हामी समग्र हिन्दू सभ्यतामा ‘जननी’को स्थानमा राखेर पूजा गर्छौं । बैशाख शुक्ल नवमीका दिन जनकपुरधाममा लाखौं श्रद्धालुहरूको उपस्थितिसँग मनाइने जानकी नवमी केवल एक धार्मिक पर्व मात्र नभइ मिथिलाको आत्मा, गौरव र सांस्कृतिक पहिचानको प्रतीक हो ।
जानकी नवमीको दिनले जनकपुरलाई एक ऐतिहासिक ‘स्मृति–स्थल’को रूपमा पुनःस्थापित गर्छ । यहाँ राजा जनकले हलो जोतेका थिए । त्यसपछि माटो फाटेर पृथ्वीकी पुत्री सीता अवतरित भएकी थिइन् । यो दृष्टान्त केवल धार्मिक कथा नभइ मिथिलाको जीवनशैली र राजनीतिक दर्शनको प्रतिविम्ब हो ।
राजर्षि जनक र मिथिला संस्कृतिको राजनीतिक सन्देश
राजर्षि जनक—एक शासक, एक दार्शनिक र एक किसान । यो त्रीविध व्यक्तित्व नै उनलाई अन्य शासकभन्दा फरक बनाउँछ । राजा भएर पनि माटोसँग मेल राख्ने उनका कथा मिथिलामा पुस्तादरपुस्ता सुनाइन्छ ।
हलो जोतेर आफ्नो कर्मको मर्यादा देखाउने जनक, केवल राजा मात्र थिएनन्, उनी त्यो चेतनशील समाजका प्रतिनिधि थिए जसले शासनमा दर्शन, धर्ममा विज्ञान र संस्कृतिमा माटो मिसाएका थिए ।

सीताको जन्म कथा, जहाँ एक राजा किसान बनेर खेत जोत्दछ र त्यसै खेतबाट पृथ्वी स्वरूपा पुत्री प्राप्त हुन्छन्—यसो हुनु भनेको सत्ता र माटोबीचको सीधा सम्बन्ध हो । यो कथा केवल आध्यात्मिक प्रसङ्ग होइन, एक गहिरो राजनीतिक अर्थ पनि बोकेको छ । सत्ता माटोबाट पैदा हुनु जरुरी छ । होइन भने त्यो शासन टिक्दैन ।
‘जय जय हो किशोरीजी’—मिथिलाको जन–मनमा सीता
मिथिलाको कण–कणमा सीताको महिमा छ । ‘जय जय हो किशोरीजी’ भनेर गुञ्जिने भक्ति–भाव, केवल धार्मिक आवेग होइन, यो एक सामाजिक परिचय पनि हो । मिथिलामा सीता केवल राजा जनककी छोरी मात्र होइनन्, उनी सम्पूर्ण क्षेत्रकी छोरी हुन्—एक आदर्श छोरी, पत्नी, रानी र त्यागको मूर्ति ।
तर, त्यही सीता जब अयोध्या गइन्, तब उनलाई मात्र नभइ मिथिलालाई पनि बिर्सियो जस्तो लाग्छ । जनकपुरको माइती घर, जसले सीतालाई जन्म दियो, हुर्कायो, त्यो माइती अहिले पनि आफ्नै पहिचानको खोजीमा छ ।
अर्थ–राजनीतिक विसङ्गति र मिथिलाको उपेक्षा
आज जनकपुरधाममा लाखौं तीर्थयात्री आउँछन् । उनीहरूको भावना, आस्था र श्रद्धाको लहर जनकपुरको गल्ली–गल्लीमा देख्न सकिन्छ ।
त,र त्यो धार्मिक ऊर्जाले मिथिलाको आर्थिक विकासमा खास योगदान दिन सकेको छैन । राज्यको दृष्टिमा मिथिला अझै पनि एक ‘पेरिफेरी’ क्षेत्र हो, जहाँ सार्वजनिक लगानी न्यूनतम छ ।

इतिहासले गवाही दिन्छ—मिथिलाकी छोरी नेपाल अधिराज्यकी महारानी भइन् । तर, राणा शासनकालदेखि जनकपुर सधैं उपेक्षित रह्यो । काठमाडौंको राज्यशक्तिमा जनकपुरको उपस्थिति सधैं सीमित रह्यो । मिथिलाको विकासलाई कहिल्यै पनि प्राथमिकतामा राखिएन ।
पटक–पटक जनकपुरले राज्यसँग आफ्ना मागहरू राख्यो—रेलमार्ग, विमानसेवा, औद्योगिक क्षेत्र, शैक्षिक संस्था, सांस्कृतिक संरक्षण आदि ।
संस्कृति र शक्तिको द्वन्द्व
दिल्ली दरबार होस् या काठमाडौं दरबार, शक्तिको केन्द्रमा संस्कृति सधैं पछि पर्छ । जानकीलाई भगवान् रामसँग विवाह गराएर अयोध्या पुर्याइयो । तर, माइतीको सम्झनासहित उनले मिथिलाको गौरव पनि अयोध्यामा लिएर गइन् । त्यसबेलादेखि नै मिथिला केवल ‘माइती’को रूपमा सम्झिने नाम मात्रै बन्यो ।
संस्कृति जीवन्त छ । तर, राज्य संरचना र राजनीतिक पहुँच नभए त्यसको प्रभाव स्थायी हुँदैन । मिथिला जति समृद्ध संस्कार र साहित्य बोकेको क्षेत्र हो, उति नै उपेक्षित राजनीतिक प्रतिनिधित्वको हिसाबले हो । जनकपुरधामले अहिलेसम्म त्यस्तो नेतृत्व जन्माउन सकेको छैन, जसले मिथिलाको विषयलाई अन्तर्राष्ट्रिय स्तरमा उठाउन सकोस् ।
जनकपुर : श्रद्धा र सम्भावनाको मिलनबिन्दु
यति हुँदा हुँदै पनि जनकपुर श्रद्धाको केन्द्र रहिरहेकै छ । जनकपुर आउने श्रद्धालुहरू केवल धार्मिक रीतिका लागि मात्र होइन, एक किसिमको आत्मीयता र भावनात्मक अपनत्व लिएर आउँछन् । जनकपुरधामका मन्दिरहरू, पोखरीहरू, परिक्रमापथ र यहाँको अतिथि सत्कार संस्कृति—यी सबैले यो शहरलाई विशेष बनाउँछ ।
तर, यो सांस्कृतिक सम्पदा संरक्षण र प्रवद्र्धनमा राज्यको खास लगानी देखिँदैन । जानकी मन्दिर आसपासको क्षेत्र व्यवस्थापन, यातायात सुविधा, स्वास्थ्य र सरसफाइको सवाल अझै पनि सोच्नुपर्ने विषय छन् । यदि जानकी नवमीलाई राष्ट्रिय पर्वको रूपमा सम्बोधन गरियो भने जनकपुरधामले धार्मिक पर्यटन मात्र नभइ सम्पूर्ण मिथिलाको आर्थिक सम्भावनालाई पनि उजागर गर्न सक्छ ।
जानकी नवमी केवल पर्व होइन, पहिचानको पुनःस्थापना हो
हामीले जानकीलाई सम्झनु भनेको मिथिलालाई सम्झनु हो । र, मिथिलालाई सम्झनु भनेको नेपालको सांस्कृतिक विविधताको मूल जरा सम्झनु हो । जानकी नवमी त्यो दिन हो, जुन दिन हामीले आत्म–चिन्तन गर्नु पर्छ—के सीताको माइती अझै पनि बिर्सिएको छ? के जनकपुरधामले आफ्नो गौरव पुनः प्राप्त गर्न सक्छ?
शासकले हलो जोतेको प्रसङ्ग, केवल धार्मिक प्रतीक होइन—यो सत्ता र जनताको बीचको सम्बन्धको गहिरो रूप हो । शासकले माटो समात्दा मात्र जनताको हृदयसम्म पुग्न सक्छ । जानकी नवमी, त्यस अर्थमा, केवल पूजा वा मेला होइन—यो मिथिलाको ‘स्वराज’को एउटा अदृश्य उद्घोष पनि हो ।
जय जानकी । जय मिथिला । जय जनकपुरधाम ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


