थाइल्यान्डको हुआ हिनमा विमान दुर्घटना : प्यारासुट प्रशिक्षणका क्रममा ६ प्रहरीको ज्यान गयो

एजेन्सी, १२ वैशाख । थाइल्यान्डको लोकप्रिय पर्यटकीय समुद्री तटीय सहर हुआ हिन नजिकै शुक्रबार बिहान भएको एक विमान दुर्घटनामा परी थाई प्रहरीका ६ जना अधिकृतको ज्यान गएको छ । प्यारासुट प्रशिक्षणको तयारीस्वरूप गरिएको परीक्षण उडानकै क्रममा विमान समुद्रमा खस्दा यो दुःखद घटना भएको हो ।
थाई प्रहरीका प्रवक्ता आर्चायोन क्राइथोङका अनुसार रोयल थाई पुलिसको स्वामित्वमा रहेको सानो विमान बिहान करिब ८ः१५ बजे फेत्चाबुरी राज्यको चा–आम रिसोर्ट क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । विमानले समुद्र माथिबाट परीक्षण उडान गरिरहेको समयमा एक्कासी सन्तुलन गुमाएर समुद्रमा खसेको थियो । दुर्घटनापछि विमान दुई टुक्रा भएको र तत्कालै उद्धार कार्य थालिएको जानकारी दिइएको छ ।
दुर्घटनास्थलमै पाँच जनाको ज्यान गएको पुष्टि गरिएको छ भने एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सबै मृतकको शव समुद्रबाट निकालिएको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार दुर्घटनाका क्रममा ठूलो आवाज आएको थियो जसको ध्वनि टाढा–टाढासम्म सुनिएको थियो । आकस्मिक रूपमा आएको विस्फोटजस्तो आवाजले समुद्र किनारमा रमाइरहेका पर्यटक र स्थानीयहरूमा त्रास फैलिएको थियो ।
दुर्घटनापछि प्रहरी र उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेका थिए । गोताखोरहरूको सहयोगमा उद्धार कार्य सञ्चालन गरिएको थियो । विमानको ब्ल्याक बक्स फेला परेको छ । अब त्यसको विश्लेषण गरिनेछ । अधिकारीहरूका अनुसार ब्ल्याक बक्सको जानकारीका आधारमा दुर्घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।
थाई सुरक्षासम्बन्धी निकायले घटनासम्बन्धी विस्तृत अनुसन्धान सुरु गरिसकेको छ । प्रारम्भिक अनुमान अनुसार विमानमा प्राविधिक गडबडी वा मानव त्रुटिका कारणले दुर्घटना भएको हुनसक्ने जनाइएको छ ।
यस घटनाले थाइल्यान्डको सुरक्षाकर्मीहरूको जोखिमपूर्ण प्रशिक्षण प्रक्रिया र हवाई सुरक्षासम्बन्धी प्रश्न उठाएको छ । प्रहरी संगठन तथा सुरक्षासम्बन्धी निकायहरूले आगामी दिनमा यस्ता परीक्षण उडानका क्रममा थप सावधानी अपनाउने जनाएका छन् ।
स्थानीय प्रशासनले मृतक प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई आवश्यक सहयोग र क्षतिपूर्ति प्रदान गरिने जनाएको छ । साथै, दुर्घटनाका साक्षी भएका स्थानीयहरूसँग पनि जानकारी संकलन गरिँदैछ ।