–मुरली मनोहर मिश्र
जनकपुरधाम, १२ वैशाख ।
राम–जानकीको चरणधूलिले पवित्र, मिथिलाको हृदय जनकपुरधाम, जहाँ धर्म, संस्कृति र सभ्यताको गहिरो विरासत समेटिएको छ, आज आफ्नै अस्मिताको रक्षा गर्न संघर्षरत छ । हजारौं श्रद्धालु, भक्तजन तथा संस्कृति अनुरागीहरूका लागि आत्मिक तीर्थस्थल मानिने यो नगर आज चरम व्यवस्थागत लापरवाही, अतिक्रमण र नैतिक पतनको कारणले पीडित देखिन्छ । धर्मको नाममा नारा लागिरहे पनि संस्कृतिको संरक्षणको नाममा केवल उत्सव देखिए पनि यथार्थमा जनकपुरधाम मौन क्रन्दन गरिरहेको छ ।

शोभायात्रा, रामनवमी, जानकी नवमी, भजन–कीर्तन जस्ता धार्मिक गतिविधिहरूले जनकपुरधामलाई जीवन्त बनाउने प्रयास त भइरहेकै छन् । तर, ती उत्सवका मार्गहरूमा मदिरा, मासुको खुलेआम बिक्री हुनु, मन्दिर परिक्रमा क्षेत्रमै रक्सीका बोतलहरू फ्यालिनु, त्यो पनि धार्मिक नगरीको मुटुमा—यो दृश्यले धार्मिक चेतनाको दुर्दशा नै देखाउँछ ।

के संस्कृति केवल उत्सव र नाचगानमा सीमित हुन थाल्यो? के धर्म रक्षा त्यतिबेला मात्र गरिन्छ जब फोटो सेसन हुन्छ? जब धार्मिक शोभायात्राको मार्ग फोहोर, अव्यवस्थित र व्यावसायिक लोभको पासोमा परेको देखिन्छ, तब प्रश्न उठ्छ — कोही जिम्मेवार छ?
जनकपुरधाममा रहेका ऐतिहासिक मठ, मन्दिर, पोखरी र फुलबारीहरू जुन साधु–सन्त, समाजसेवी र आम जनताले पुस्तौंदेखि जतन गरेका थिए, ती आज व्यावसायिक लोभ, राजनीतिक संरक्षण र प्रशासनिक उदासीनताको कारणले अस्तित्व संकटमा छन् । कतिपय मठमन्दिरको वरिपरि पसल र घर बनाइएका छन् । पोखरीहरूमा प्लास्टिक, फोहोर र मल–मुत्र मिसिएको छ ।

जनकपुरधामको प्रमुख दर्शनस्थल अगाडि फोहोर थुपारिएको देख्नु र ती ठाउँहरूमा पशु बाँधेर राखिएको दृश्यले श्रद्धालुलाई नै अपमानित बनाउँछ । विद्यालय र अस्पतालको अगाडि फुटपाथ अतिक्रमणले पैदल यात्रुहरू जोखिममा परेका छन् ।

प्रशासन, राजनीति र समाज सबै मौन

तीन तहका सरकार — संघीय, प्रदेश र स्थानीय — तीनै मौन छन् । योजना बनिन्छ, बजेट छुट्याइन्छ, तर कार्यान्वयन कहाँ छ ? स्थानीय जनप्रतिनिधिहरू भाषणमा धर्म र संस्कृति बचाउने कुरा गर्छन् । तर, व्यवहारमा काठको कठपुतलीझैं निष्क्रिय छन् ।
समाजका अगुवाहरू, मञ्चमा ओर्लिएर आत्मगौरवको बात गर्छन् । तर, मन्दिर परिसरमै अतिक्रमण हुँदा चुप लाग्छन् । यही हो जनकपुरको विडम्बना — जहाँ धर्मको रक्षामा सबै मौन दर्शक बनेका छन् ।
१७औं शताब्दीमा सुरकिशोर दास, चतुर्भुज गिरी जस्ता महापुरुषहरूले पुनः आविष्कार गरेका जनकपुरधाम टिकमगढकी महारानीले विकासमा दिएको योगदान आज विस्मृतिमा पर्दैछ । आज त्यो नगरी आफ्नै संस्कृतिका सौदागरहरूको हातमा छ, जसले संरक्षण होइन, दोहन गरिरहेका छन् ।

अन्ततः प्रश्न के उठ्छ?

के हामी साँच्चै विकास चाहन्छौं कि विनाश?
धर्मको नाममा नाराबाजी, संस्कृति संरक्षणको नाममा केवल उत्सव र सजावट — के यही हो हाम्रो जिम्मेवारी?
समय आएको छ — प्रश्न गर्न, जवाफ माग्न र जवाफदेही ठहर गर्न। जनकपुरधाम केवल आस्थाको केन्द्र होइन, यो उत्तरदायित्वको प्रतीक पनि हो ।

नागरिक अपील :

– तीन तहका सरकारले तुरुन्त अतिक्रमण हटाओस्, सफाइ व्यवस्था दुरुस्त गरोस् र मन्दिर क्षेत्रका मासु–मदिरा पसल हटाओस् ।
– जनताले जागरुक नागरिकको भूमिका निभाओस् — केवल दर्शक होइन, संरक्षक बन्नुहोस् ।
– सञ्चारमाध्यम, धार्मिक संस्था, विद्यार्थी र समाजसेवी संस्थाहरू मिलेर एकजुट जनचेतना अभियान चलाओस् ।

जनकपुर बचाऔं — संस्कृति जोगाऔं ।
धर्मको रक्षा गरौं — आत्माको सम्मान गरौं ।

लेखक जनकपुर नागरिक समाजका अगुवा हुन् ।