जनकपुरधाम, ८ वैशाख । गर्मीको चर्को घाम, पसिनाले लथपथ जनकपुरधामको सडक, अनि रमणीय रामचोकको एक कुनामा भीडले भरिएको एउटा सानो पसल — जहाँ दैनिक सयौँ गिलास लस्सीले तिर्खा मेटिन्छ । नाम हो – बिन्दू लस्सी भण्डार । बिहान ७ बजेदेखि राति १० बजेसम्म यहाँ लस्सीकै सुगन्ध, स्वाद र सन्तुष्टिले ग्राहकलाई तानिरहन्छ ।

‘गर्मीमा त यहाँ भीड यस्तो हुन्छ कि एकछिन फुर्सद नै हुँदैन’, पसल सञ्चालक पिन्टु गुप्ता मुस्कुराउँदै भन्छन्, ‘हामीले त मजाकमै भन्न थालिसकेका छौं – यहाँ गिलास होइन, विश्वास बेचिन्छ !’

यस स्थानमा दैनिक सयौँ मानिसहरू तिर्खा मेट्न मात्रै होइन, स्वाद, सम्झना र संस्कृति समेट्न पनि आउँछन् । ३५ वर्षअघि सानो पसलबाट सुरु भएको बिन्दू लस्सी भण्डार अहिले जनकपुरधामको स्वाद चिनाउने एउटा सांस्कृतिक थलो बनिसकेको छ । बिहान ७ बजेदेखि राति १० बजेसम्म यहाँ लस्सीको अविरल बिक्री हुन्छ । गर्मीको मौसममा त झन दैनिक ५ सय ग्लासभन्दा बढी खपत हुने गरेको पिन्टु बताउँछन् ।

लस्सीको विशेषता के हो? पसल सञ्चालक गुप्ता भन्छन्, ‘यो लस्सीमा हाम्रो आत्मा मिसिएको छ । दही त सब बनाउँछ, तर दिलदेखिको सेवा, मिठास र सन्तुलन सबैको बसको कुरा होइन ।’

उनका अनुसार लस्सीमा प्रयोग हुने दही उनीहरू आफैं तयार गर्छन् । त्यसमा मिसाइन्छ गुलाब जल, चिनी, चिसो पानी र केही घरको गोप्य मसला । त्यसपछि गिलासमा हालिन्छ काजु, बदाम, किशमिस र पिस्ता ।

त्यही लस्सीको स्वाद हो जसले विनय यादवलाई हरेक बिहान बिन्दू लस्सीमा डुलाउने गर्छ । ‘म त २० वर्षदेखि यही लस्सी पिइरहेछु,’ उनी भन्छन्, ‘घरमा लस्सी बनाइन्छ, तर बिन्दूको स्वाद फरक नै छ ।’

त्यसैगरी बजारमा किराना व्यवसाय गर्ने रामपुकार साह हरेक दिउँसो एक बजेतिर पसलको काम थाती राखेर लस्सी पिउन आउँछन् । ‘बिन्दूको लस्सीले दिमाग र मुटु दुवै चिस्याउँछ,’ उनले भने, ‘साँच्चिकै स्वाद छ यो लस्सीमा ।’

पाँच बजेको समय हुन्छ, गर्मी अझै उस्तै छ । यत्तिकैमा साथीहरूको समुह हाँस्दै पसलमा पसेर गिलास समात्छ । उनीहरूमध्ये एक संजय गुप्ता भन्छन्, ‘हामी हरेक दिन अफिस सकिएपछि यतै आउँछौं । यो हाम्रो डेली रिचुअल हो । बिन्दू लस्सी जनकपुरको गौरव हो ।’

लस्सीको यति डिमाण्ड छ कि ५–६ जना कर्मचारीले पनि कहिले विश्राम लिन पाउँदैनन् । कुनै त गिलास धुने, कुनै लस्सी फेर्ने, तेस्रो टपिङ राख्ने । ‘प्रत्येक दुई मिनेटमा नयाँ ग्राहक आउँछन्,’ पिन्टु भन्छन्, ‘एकपटकमा १० देखि २० जनासम्म आइहाल्छन् ।’
पसलको भित्री भागमा चलिरहेको काम हेर्दा लाग्छ यो कुनै लस्सी पसल होइन—साँच्चैको उत्पादन यन्त्र हो, जसले निरन्तर स्वाद बनाइरहेको छ ।

जनकपुरधाम राम–जानकीको नगरी हो । यहाँका तीर्थ, मन्दिर र संस्कारले शहरलाई विशिष्ट बनाउँछन् । तर, त्यसका साथै यहाँका परिकार, विशेषतः बिन्दू लस्सी पर्यटकहरूलाई पनि उतिकै लोभ्याउँछ ।

‘म राममन्दिरको दर्शन गरेर फर्केपछि सिधा यहीं आएको छु,’ एक भारतीय पर्यटकले भने, ‘बिन्दू लस्सीको चर्चा त भारतमा पनि सुनेको थिएँ ।’

पिन्टु गुप्ता अब लस्सीको व्यापारलाई थप व्यवस्थित बनाउने सोचमा छन् । ‘हामी अब बोटलिङ गर्ने तयारी गर्दैछौं,’ उनी भन्छन्, ‘जनकपुर मात्रै होइन, काठमाडौँ, विराटनगरसम्म बिन्दू लस्सी पुर्याउने मेरो सपना छ ।’

बिन्दू लस्सी केवल एक पेय पदार्थ होइन । यो ३५ वर्षदेखि जनकपुरको स्वाद, आत्मा र पहिचान बनेको छ । यहाँ हरेक गिलासमा केवल मिठास मात्र होइन, मेहनत, माया र याद मिसिएको छ ।

त्यसैले त – जब गर्मी बढ्छ, घाम चर्किन्छ, अनि मन तिर्खाउँछ, जनकपुरवासीहरू एउटै स्वरमा भन्छन्, ‘हम यहीं पिते हैं दही लस्सी ।’