–ज्योति झा
जनकपुरधाम, १ वैशाख ।
‘जिन्दगी सोचेजस्तो कहाँ हुन्छ र ! सुखपछि दुःख, रातपछि बिहानी आउँछ नै । मौसमजस्तै समय पनि परिवर्तनशील हुन्छ’— राकेश साह हलुवाईका यी शब्दहरू सुनिँदा लाग्छ जीवनले उनलाई समयभन्दा धेरै सिकाएको छ । धनुषाको सखुवा महेन्द्रनगरमा जन्मिएका राकेश विगत दुई दशकभन्दा बढी समयदेखि राजधानी काठमाडौंमा देशभित्रै अर्कै देशको अनुभूति लिएर पसिना बगाइरहेका छन् ।

२०५७ सालदेखि राजधानीमा संघर्ष गर्दै आएका राकेश आजभोलि ललितपुरका गल्ली–गल्लीमा ठेलामा चटपटे बेच्दै हिँड्छन् । कहिले दौडिनुपर्छ, कहिले सहनुपर्छ, कहिले चुप लाग्नुपर्छ । जिन्दगीको पाठशालामा हरेक दिन नयाँ अध्याय खुल्छ । उनी भन्छन्, ‘पहिला कपडाको पसलमा काम गर्थें, राम्रो कमाइ हुन्थ्यो । त्यो बेला एउटै राजा थिए । अहिले सबै राजा छन् ।’

राजतन्त्रको अन्त्यसँगै देशमा लोकतन्त्र आयो तर राकेशका लागि त्यो परिवर्तन ‘समता र समानता’ नभई असमानता र अनिश्चयको पर्याय बन्यो ।

‘अहिले हरेक मान्छे आफूलाई राजा सम्झन्छ, चाहे त्यो प्रहरी होस्, नेता होस्, पत्रकार होस् वा पसले । घरमा पनि यदि सबै सदस्य घरमूली हुन्छन् भने घर टुट्छ, देश पनि त्यस्तै भयो,’ उनले गहिरो चिन्तन गर्दै भने ।

राकेशको कथामा भोगाइ मात्र छैन, एउटा वर्गको पीडा, मधेसी पहिचानप्रतिको प्रश्न र अवसरबाट टाढा पारिएको अनुभूति पनि छ ।

६ वर्षदेखि उनले ललितपुर क्षेत्रमै ठेलामा चटपटे बेचेर गुजारा गरिरहेका छन् । ‘दिनको ५०० देखि १००० रुपैयाँसम्मको कमाइ हुन्छ । त्यो पनि महानगरपालिकाका नियम, ठेलामाथिको धरपकड र समाजको विभेदबीच संघर्ष गर्दै’ उनी भन्छन् ।

‘लोकलले महिनाको ५ हजार जबरजस्ती लिन्छन् । महानगरपालिका त झन् ठेला उठाएर लखेट्छ । पैसा तिर्छु, मेहेनत गर्छु तर भाग्नुपर्छ । म कुन देशको नागरिक हुँ भन्ने प्रश्न आफैंलाई सोध्न बाध्य हुन्छु ।’

उनी भन्छन्, ‘मधेसी भएकै कारण थप पीडा पाएको छु । भेदभाव अझै बाँकी छ । कहिले जात, कहिले रङ्ग, कहिले भाषा । कहिले मेटिने हो यी सोचहरू? हामी सबै नेपाली हौं भन्ने चेत कहिले फैलिने हो?’

राकेशको जीवन यत्तिमै सीमित छैन । उनी विवाहित छन् र एक छोरीका बाबु पनि — जो शारीरिक रूपमा अपाङ्ग छिन् । उनका लागि छोरीको हरेक हाँसो आशाको किरण हो । छोरीको हरेक आँशु राकेशको गम्भीर जिम्मेवारी । ‘भगवानले शारीरिक अवस्था यस्तो बनाइदिए । तर ज्ञान, सोच र आत्मबल दिनु मेरो कर्तव्य हो । विकलाङ्ग स्कुलमा पढाउँदै छु । छोरीको भविष्य बनाउने मेरो सपना हो ।’

राकेश साहज भाषामा गम्भीर सवाल उठाउँछन् — ‘मधेश कहाँको हो त? नेपालको हैन?’ उनको कथनमा विद्रोह छैन । तर, गहिरो पीडा र उपेक्षाबाट उत्पन्न आवाज छ । उनका अनुसार, ‘आज सबै मालिक छन्, गरीब भने अझ धेरै निरीह ।’

साँचो भनेको यही हो । राजधानीमा एउटा मधेसी नागरिकको अस्तित्व अझै स्पष्ट छैन । उनीहरूको श्रम त देखिन्छ । तर, अस्तित्व स्वीकारिँदैन । राकेशको अवस्था कुनै एउटा व्यक्तिको मात्रै होइन । यो राजधानीमा पसिना बगाउने हजारौं मधेसी श्रमिकहरूको साझा आवाज हो । उनीहरूको मर्का, मेहनत र मोहको आवाज हो ।

‘जिन्दगी चल्दै छ, सजिलो छैन,’ उनी भन्छन्, ‘तर छोरी हाँस्छे, श्रीमती काम गर्छिन्, अनि म भोलिको आसमा बाँचिरहेको छु ।’