जनकपुरधाम, ३१ चैत । मधेश प्रदेशमा सत्ताको नेतृत्व गरिरहेको जनमत पार्टीले आफ्नै सरकारविरुद्ध आइतबार विरोध प्रदर्शन गरेको छ । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि जनमत पार्टीका शीर्ष नेताहरु, कार्यकर्ता र समर्थकहरूको उपस्थिति रहेको प्रदर्शनमा ‘भ्रष्टाचारविरुद्ध कडा कारबाही’ र ‘योजनामा समानता’ को माग गरिएको हो ।

विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले ‘भ्रष्ट मन्त्रीलाई कारबाही गर’, ‘योजना खरिद–बिक्री बन्द गर’, ‘जनकपुरको सार्वजनिक सम्पत्ति जोगाऊ’, ‘धनुषा–३ मा विभेद बन्द गर’ जस्ता नारा अंकित प्लेकार्ड बोकेर मुख्यमन्त्री कार्यालय घेराउ गरेका थिए ।

प्रदर्शनमा सहभागी जनमत पार्टीका नेता डा. प्रशन्नकुमार झाले जनकपुरधाममा सञ्चालित योजनाको खरिद–बिक्री प्रक्रियामा अनियमितता भएको र प्रदेश सरकारका केही मन्त्रीहरू त्यसमा संलग्न रहेको गम्भीर आरोप लगाए । उनले भने, ‘जनमत पार्टी भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको पक्षमा छ । चाहे हाम्रै पार्टीका मन्त्री किन नहोस्, जनताको करको पैसा लुट्न पाइँदैन ।’

डा. झाले धनुषा निर्वाचन क्षेत्र नम्बर–३ लाई बजेटको पहुँचबाहिर राखिएको भन्दै गुनासोसमेत गरे । उनका अनुसार पुरक परियोजनाबाट पनि यस क्षेत्रमा कुनै विकास योजना नल्याइएकोले गम्भीर असन्तोष सिर्जना भएको हो । ‘विकास योजनामा पनि भेदभाव गर्न मिल्दैन । सबै क्षेत्र बराबरीका आधारमा हेर्नुपर्छ,’ उनले जोड दिए ।

प्रदर्शनकारीहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई ७ बुँदे ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमा जनकपुरधामका धार्मिक, ऐतिहासिक तथा सार्वजनिक सम्पत्तिहरूको संरक्षण, अतिक्रमण अन्त्य, योजनाको पारदर्शिता, बजेटको न्यायोचित वितरण, भ्रष्टाचारमा संलग्न मन्त्रीहरूको राजीनामा र छानबिन आयोग गठनको माग गरिएको छ ।

प्रदर्शनको नेतृत्व गरेका एक नेताले भने, ‘यो आन्दोलन हाम्रो नैतिक जिम्मेवारी हो । हामी सत्ता चलाउन आएका हौँ । जनता धोका दिन होइन । सत्ता भ्रष्टाचारको केन्द्र बन्न थालेपछि सडकमा उत्रनु बाध्यता भयो ।’