काठमाडौं, २१ चैत । अवैध रूपमा हुने पैसाको कारोबार (हुन्डी) नियन्त्रणका लागि प्रहरीले चलाएको अपरेशन अन्तर्गत काठमाडौंको महाबौद्धबाट एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले भारतको हिमाञ्चल प्रदेशस्थित सुजा–३ जोगिन्दर नगर घर भएकी हाल काठमाडौं महानगरपालिका–६ बौद्धमा बस्दै आएकी २६ वर्षीया तिब्बती मूलकी रिक्से वाङ्मोलाई पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले काठमाडौं महानगरपालिका–२७ महाबौद्ध क्षेत्रमा निगरानी बढाएको थियो । अनुसन्धानका क्रममा वाङ्मो हुन्डी कारोबारमा संलग्न रहेको पाइएपछि उनलाई पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ परेकी वाङ्मोको साथबाट प्रहरीले २० लाख ९२ हजार रुपैयाँ नगद र एउटा आइफोन बरामद गरेको छ । प्रहरीका अनुसार उनी लामो समयदेखि हुन्डी कारोबारमा संलग्न रहेको हुन सक्ने आशंका गरिएको छ ।

महाबौद्ध क्षेत्र हुन्डी कारोबारको हबका रूपमा परिचित मानिन्छ । प्रहरीका अनुसार सो क्षेत्रमा अवैध वित्तीय कारोबार हुने सूचना प्राप्त भएपछि जनसेवा प्रहरी वृत्तबाट खटिएको विशेष टोलीले निगरानी बढाएको थियो । सोही क्रममा वाङ्मोको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानमा उनले कुनै औपचारिक बैंकिङ प्रक्रियाबिना नै ठूलो मात्रामा नगद कारोबार गर्ने गरेको देखिएको छ ।

प्रहरीका अनुसार वाङ्मोलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ । प्रहरीले उनको बैंक खाता, सम्पत्ति विवरण र उनको नेटवर्कका बारेमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।