जनकपुरधाम, ३२ असार । धनुषा जिल्ला अदालतले आर्थिक वर्ष २०८१/०८२ मा कुल ५६.७८ प्रतिशत मुद्दा फछर्यौट गरेको छ । अदालतमा पुराना र नयाँ गरी दर्ता भएका ९ हजार ९ सय ३२ मुद्दामध्ये ५ हजार ६ सय ४९ वटा मुद्दा टुंगोमा पुर्याइएको हो ।

बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अदालतका प्रमुख जिल्ला न्यायाधीश चुडामन खड्काले वार्षिक रूपमा ६५ प्रतिशत मुद्दा फछर्यौट गर्ने लक्ष्य राखिए पनि नयाँ मुद्दाको चाप अत्यधिक बढेकाले लक्ष्य अनुसारको परिणाम हासिल गर्न नसकिएको स्पष्ट पारे ।

उनका अनुसार आर्थिक वर्षभित्र अदालतमा जिम्मेवारी सरेर आएका ४ हजार १ सय ७९ मुद्दा र नयाँ दर्ता भएका ५ हजार ५ सय ८४ मुद्दा गरी कुल ९ हजार ९ सय ३२ मुद्दा पुगेका थिए । अहिले पनि अदालतमा ४ हजार २ सय ८२ मुद्दा बाँकी रहेका छन् ।

१८ महिनाभन्दा पुराना २ हजार ७८ मुद्दामध्ये १ हजार ८ सय ३९ को फछर्यौट भइसकेको छ भने अब २ सय ३९ मुद्दा मात्र बाँकी रहेको अदालतले जनाएको छ । दुई वर्ष पुराना १ हजार १ सय ४६ मुद्दामध्ये ९९ मुद्दा मात्र बाँकी छन् ।

पारिवारिक इजलासमा दर्ता भएका ५८२ मुद्दामध्ये ३०६ फछर्यौट भएका छन् भने २७६ अझै बाँकी छन् । वाल इजलासअन्तर्गत १८१ मुद्दामध्ये १२८ फछर्यौट भइसकेका छन् भने ५३ मुद्दा बाँकी छन् ।

देवानी मुद्दातर्फ ४ हजार १ सय ७१ मुद्दा दर्ता भएका छन् । तीमध्ये सर्वाधिक २ हजार ४०१ लेनदेनसम्बन्धी, ७४८ अंशबन्डा, ३१४ सम्बन्धविच्छेद, ४५ माना चामल र २३ नाता कायमका मुद्दा रहेका छन् ।

सरकारवादी फौजदारी मुद्दा ७४६ छन्, जसमा १३१ बैंकिङ्ग कसुर, ६३ करणी र २२ बहुविवाह तथा बालविवाहसम्बन्धी छन् । यता, दुनियाँवादीतर्फ ३४३ चेक अनादर र १ हजार ५३९ सामाजिक मुद्दा (घरेलु हिंसा, गाली बेइज्जती आदि) रहेका छन् ।

न्यायाधीश खड्काले सीमित स्रोतसाधन र जनशक्ति हुँदाहुँदै पनि न्यायमा ढिलाइ नहोस् भन्ने उद्देश्यले अदालत क्रियाशील रहेको बताए । उनले न्यायिक सेवा प्रभावकारी बनाउन प्राविधिक सुधार र व्यवस्थापकीय सहयोग अपरिहार्य रहेको समेत औँल्याए ।