जनकपुरधाममा आफ्नै साथीद्वारा छुरा प्रहार गरि युवकको हत्या, शव राखेर जलेश्वर सडकखण्डमा आफन्तको प्रदर्शन

जनकपुरधाम, ३ चैत । जनकपुरधाममा होली खेल्ने विषयमा विवाद हुँदा एक युवकको हत्या गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ स्थित बिन्धीमा आफ्नै साथीले १८ वर्षीय आशु यादवलाई छुरा प्रहार गरी हत्या गरेको हो ।
यादवको छाती, पेट र ढाडमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका यादवको उपचारका लागि प्रादेशिक अस्पताल लगिंदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
छुरा प्रहार गर्ने बिन्धीकै २१ वर्षीय धर्मेन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषका प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिएका छन् ।
हत्या किन के कारणले गरियो भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको छ ।
यसैबिच, स्थानीयले छुरा प्रहारगरि हत्या गरिएका आशुको शव सडकमै राखेर प्रर्दशन गरेका छन् । उनीहरुले दोषीमाथि कडा कारवाहीको माग गर्दै टायर बालेर सडक अवरुद्ध गरेका छन् ।
उनका आफन्त र स्थानीयले सडकमा शव राखेर प्रदर्शन गरेका छन् । उनीहरूले घटनामा संलग्न अन्य दोषीहरुलाई यथाशीघ्र पक्राउ तथा क्षतिपूर्तिको माग गर्दै सडकमा शव राखेर प्रदर्शनमा उत्रिएका छन् ।
आशुको शव आज प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमपछि शव बुझेर लगेका आफन्तसहित स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएको प्रहरीले जनाएको छ ।
स्थानीयको प्रदर्शनले जलेश्वर–जनकपुर सडकखण्डमा चल्ने सारीसाधनहरु पूर्णरुपले ठप्प भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

